कुश्वरको दौडधुप पछि चन्द्रपुरको आर्थिक गतिरोध हट्दै
रौतहट । लामो समयदेखि ठप्प रहेको चन्द्रपुर नगरपालिकाको आर्थिक कारोबार सञ्चालनमा आउने भएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको बैंक खाता सञ्चालनका लागि कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारसहित जनप्रतिनिधिहरूले सक्रियता बढाएपछि निकासको बाटो खुलेको हो।
खाता सञ्चालन नहुँदा नगरपालिकाका दैनिक प्रशासनिक कामदेखि विकास निर्माण, कर्मचारीको तलबभत्ता, उपभोक्ता समिति र निर्माण व्यवसायीको भुक्तानीसम्म प्रभावित भएको थियो। योजना सम्पन्न भए पनि भुक्तानी रोकिँदा नगरपालिकाको आर्थिक गतिविधि नै सुस्त बनेको थियो।
गतिरोध अन्त्यका लागि कुश्वारले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच संवादको वातावरण बनाउन पहल गरेका थिए। वडा नम्बर १ का अध्यक्ष बलराम राउतसहित अन्य कार्यपालिका सदस्यहरूले समेत आर्थिक कारोबार तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
जनप्रतिनिधिहरूको सामूहिक छलफलपछि नगरपालिकाको बैंक खाता सञ्चालन गर्ने वातावरण बनेको बताइएको छ। सोमबारदेखि मंगलबारसम्ममा खाता सञ्चालनमा ल्याउने तयारी भइरहेको आर्थिक विकास संयोजक श्रीनेत्रबहादुर कुश्वारले जानकारी दिएका छन्।
खाता खुलेपछि रोकिएका विकास योजना, कर्मचारी तथा सेवाप्रदायकको भुक्तानी र अत्यावश्यक सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। लम्पी स्किन रोग नियन्त्रणका लागि औषधि तथा उपचार व्यवस्थापनमा समेत यसले सहजता ल्याउने जनप्रतिनिधिहरूको भनाइ छ।
कुश्वारले नगरपालिकाको आन्तरिक विवादको असर जनतामाथि पर्न नहुने भन्दै अब व्यक्तिगत मतभेदभन्दा नगरवासीको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार खाता सञ्चालनसँगै रोकिएका कामलाई गति दिन जनप्रतिनिधि र प्रशासनबीच निरन्तर सहकार्य आवश्यक छ।











