मिटरबिनाको विद्युत् खेलमा कालिका इन्टरप्राइजेजमाथि प्रश्नैप्रश्न, लाइन काटिएपछि महसुलको हिसाब कहाँ ?
सुरज बिक्रम | बारा
बाराको कोल्हवी बजारमा विद्युत् जडानसम्बन्धी विवादमा परेको कालिका इन्टरप्राइजेजको विद्युत् लाइन काटिएको छ। कोल्हवी बजारका नगरपालिकाका सटरहरूमा विद्युत् जडानको प्रक्रिया र मिटरको अवस्थाबारे प्रश्न उठाउँदै समाचार प्रकाशित भएपछि कालिका इन्टरप्राइजेजको विद्युत् काटिएको स्वास्थ्य शाखाका प्रमुख मनोज चौधरीले जानकारी दिएका छन्।
समाचारमा कालिका इन्टरप्राइजेजले आवश्यक प्रक्रिया पूरा नगरी विद्युत् प्रयोग गरेको हुनसक्ने, स्वास्थ्य चौकीको लाइनबाट सटरतर्फ विद्युत् विस्तार गरिएको भनिएको तथा मिटरको अवस्थासमेत स्पष्ट नभएको विषय सार्वजनिक गरिएको थियो। त्यसपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको र इन्टरप्राइजेजतर्फको विद्युत् लाइन काटिएको बताइएको छ।
स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार कालिका इन्टरप्राइजेजले प्रयोग गर्दै आएको विद्युत् जडान नियमित प्रक्रियाअनुसार नभएको पाइएपछि लाइन काटिएको हो। यो कदमसँगै लामो समयदेखि उठ्दै आएको ‘मिटर कहाँ छ ?’, ‘विद्युत् कसरी जोडियो ?’ र ‘महसुल कसरी तिरियो ?’ भन्ने प्रश्न थप पेचिलो बनेको छ।
यसअघि कालिका इन्टरप्राइजेजका सञ्चालक रबिन मैनालीले आफूहरूले विद्युत् चोरी नगरेको दाबी गरेका थिए। सटरहरूमा विद्युत् उपलब्ध गराउने जिम्मेवारी नगरपालिकाको भएको र आफूहरूले सम्बन्धित पक्षसँग अनुमति लिएर विद्युत् प्रयोग गरेको उनको भनाइ थियो।
तर अहिले स्वास्थ्य शाखाबाटै इन्टरप्राइजेजको विद्युत् काटिएको पुष्टि भएपछि उक्त दाबी र वास्तविक विद्युत् जडान प्रक्रियाबीचको अन्तरबारे छानबिन आवश्यक देखिएको छ। यदि जडान वैधानिक थियो भने लाइन किन काटियो ? र अवैध थियो भने कुन व्यक्ति वा निकायको अनुमति तथा प्रक्रियाबाट विद्युत् जोडियो ? भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।
स्वास्थ्य शाखामा पनि मिटरको विषय स्पष्ट
यता, स्वास्थ्य शाखाका प्रमुख मनोज चौधरीले स्वास्थ्य चौकीमा समेत हालसम्म विद्युत् मिटर नआएको जानकारी दिएका छन्। मिटर नआउन्जेल पालिकामार्फत कृषि शाखाबाट विद्युत् जडान गरी स्वास्थ्य चौकीको सेवा सञ्चालन गरिएको उनको भनाइ छ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा मिटर नआउँदासम्म वैकल्पिक व्यवस्थामार्फत विद्युत् सञ्चालन गरिएको विषय र निजी व्यवसायिक प्रयोजनका लागि गरिएको विद्युत् जडानबीचको प्रक्रिया भने स्पष्ट हुनुपर्ने देखिन्छ।
अब नगरपालिकाले जवाफ दिनुपर्ने
नगरपालिकाले सटरहरूबाट वार्षिक करिब ५ लाख ६० हजार रुपैयाँ आम्दानी हुने गरी भाडामा लगाएको अवस्थामा सटरमा विद्युत् जडानको जिम्मेवारी कसको हो भन्ने कुरा सम्झौतामै स्पष्ट हुनुपर्ने हो। तर विद्युत् जडानमै विवाद उत्पन्न भएपछि नगरपालिकाको व्यवस्थापन र अनुगमन प्रणालीमाथि समेत प्रश्न उठेको छ।
त्यसैगरी, नगर प्रमुख राम प्रसाद चौधरीको नामसमेत यस प्रकरणमा जोडिएपछि नगरपालिकाले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने देखिएको छ। कसको निर्देशनमा विद्युत् जोडियो, कुन स्रोतबाट लाइन दिइयो, मिटरको व्यवस्था किन भएन र लामो समयसम्म विद्युत् प्रयोग भइरहँदा सम्बन्धित निकाय किन मौन रह्यो भन्ने प्रश्नको जवाफ आवश्यक छ।
अब विषय केवल एउटा व्यवसायिक संस्थाको विद्युत् काटिएको घटनामा सीमित नरही नगरपालिकाका सटर, स्वास्थ्य चौकी, कृषि शाखा र विद्युत् जडान प्रक्रियासम्मै पुगेर छानबिन गर्नुपर्ने अवस्था देखिएको छ।
स्थानीयले नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायसँग स्थलगत निरीक्षण गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। विद्युत् जडान वैधानिक थियो वा थिएन, महसुल कसरी तिरियो र नियमविपरीत काम भएको भए जिम्मेवार को हो भन्ने विषय प्रमाणसहित सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
समाचार सार्वजनिक भएपछि विद्युत् लाइन काटिनुले यसअघि उठाइएका प्रश्नलाई थप गम्भीर बनाएको छ। अब कालिका इन्टरप्राइजेज मात्र होइन, विद्युत् जडानको अनुमति दिने तथा व्यवस्थापन गर्ने पक्षसमेत छानबिनको दायरामा आउनुपर्ने देखिन्छ।











