निजगढमा विद्यार्थीलाई प्राथमिक उपचार तालिम, कार्यक्रम सम्पन्न
बारा — ‘योगदान राष्ट्रको लागि अभियान’ निजगढ समितिको आयोजनामा श्री गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी निजगढ ले गरेको थियो भने व्यवस्थापन जुनियर रेडक्रस सर्कल श्री गौरीशंकर मावि ले गरेको थियो। तालिममार्फत विद्यार्थीहरूलाई आपतकालीन अवस्थामा आवश्यक प्राथमिक उपचारका सीपहरूबारे जानकारी गराइएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न सहयोगी संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
‘जय योगदान राष्ट्रको लागि, एक घर एक प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त अभियानले समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी जनचेतना फैलाउने लक्ष्य लिएको छ।






