बाढी र पहिरोबाट ८ विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
काठमाडौँ । देशभर भएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्यालयहरूमा ठूलो क्षति पुर्याएको छ, जसले गर्दा ८ जना विद्यार्थीको ज्यान गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ जना विद्यार्थीको मृत्यु पुष्टि भएको छ भने बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययनरत विद्यार्थीहरूको मृत्युको विवरण अध्यावधिक गर्न बाँकी रहेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयका ६ जना विद्यार्थीको पहिरोले पुरिएर मृत्यु भएको मन्त्रालयले जनाएको छ। ती विद्यार्थीहरू कक्षा ८ र ९ मा अध्ययनरत थिए।
बाढी, पहिरो तथा डुबानले देशभरका १२ जिल्लामा ५३ विद्यालयमा क्षति पुर्याएको छ। रसुवा, सिन्धुली, तेह्रथुम, मकवानपुर, हुम्ला, जाजरकोट, पाचँथर, मोरङ, सिराहा, सर्लाही, सप्तरी र पर्साका विद्यालयहरू प्रभावित भएका छन्। तीमध्ये मधेश प्रदेशका ४२ विद्यालयमा ठूलो क्षति पुगेको छ, जसले गर्दा १० हजार ९०० विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकास्थित महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको जानकारी दिए।
सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिँदा १७ जना फरक क्षमता भएका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
यस विपद्को असरले विद्यार्थीहरूको पढाइमा गम्भीर असर पुर्याएको भन्दै मन्त्रालयले आवश्यक राहत र पुनर्स्थापना प्रयासहरू सुरु गरेको छ। प्रभावित विद्यालयहरूलाई तत्काल पुनर्निर्माण र सुरक्षित स्थानमा पठनपाठनका लागि व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ।





