घूस लिएको उजुरी परेपछि श्रम मन्त्रालय तानिए कोल्हवी ४ का उप्रेती
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेती छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन् । डेनमार्कको अवैतानिक श्रम संयोजक बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानबिनका लागि मन्त्रालय तानेको हो ।
मन्त्रालयले उप्रेतीमाथि छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले उप्रेतीलाई स्पष्टीकरण लिएको छ । तत्कालका लागि बोर्डको जिम्मेवारी श्रम सहसचिव जीवनाथ भुसाललाई दिइएको छ ।
एक जना व्यक्तिले आफुसँग २० लाख रुपैयाँ लिएर डेनमार्कका लागि अवैतानिक श्रम संयोजक नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन् । त्यो उजुरीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको हो । त्यस विषयमा छानबिन गर्न समिति बनाइएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने ।
बोर्डमा निकट आफन्तलाई भर्ना गरेको, जानकारी नदिई पटकपटक विदेश भ्रमण गरेको, परराष्ट्रलाई जानकारी नदिई मलेसियाको निजी कम्पनीसँग सम्झौता गरेको र प्रभावकारी कार्यसम्पादन नभएको विषयलाई लिएर उप्रेती विवादमा थिए । निकट आफन्तलाई अधिकृतस्तरको कर्मचारी भर्ना गर्ने प्रक्रियामा निजी ल्यापटपबाट परीक्षा दिन लगाएको आरोप पनि उनीमाथि थियो । यो विषय सार्वजनिक भएपछि ती व्यक्तिले राजीनामा दिएका थिए ।
‘उप्रेतीले गम्भीरतापूर्वक काम गरिराख्नुभएको थिएन । सधैं विवादै विवादमा घेरिनुभइरहेको थियो । पछिल्लो पटक गम्भीर प्राकृतिको आरोप लागेपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढाएको हो,’ ती अधिकारीले भने । गत मंसिरमा बोर्डका कार्यकारी निर्देशक रहेका उप्रेतीले मलेसियामा नेपाली कामदारको कल्याणकारी सेवा प्रदान गर्ने नाममा मलेसियन रोजगारदाताबाट रकम उठाउने गरी मलेसियन निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग गरेको सम्झौता पनि विवादमा परेको थियो ।
गत पुस १६ (जनवरी १) देखि ५ वर्षका लागि कार्यान्वयन आउनुअघि सार्वजनिक सम्झौता विवादमा परेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सम्झौतालाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।





