पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ ।
औपचारिक उद्घाटनको तीन दिनअघि शिविर सञ्चालन गरेर ५ सय ५४ बिरामीको शल्यक्रिया गरिएको थियो । शिविरमा ४ हजार ३५ जनाले सेवा लिएका थिए । त्यसपछि अस्पताल विधिवत् सञ्चालनमा ल्याइएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गर्दै यो अस्पताल ‘मेडिकल टुरिजम’ का रूपमा नमुना भएको बताए । ‘गरिब, विपन्नले सस्तोमा उपचार पाउनु खुसीको कुरा हो,’ उनले भने, ‘भवन ठूलो कुरो होइन, भवनभित्र हुने उपचार सेवा ठूलो हो ।’
साक्षरता कम र आँखाका बिरामी धेरै भएको मधेस प्रदेशमा विश्वस्तरको उपचार सेवा पाउनु खुसीको कुरा भएको उनले बताए । उनले सप्तरीमा पनि यस्तै विश्वस्तरको आँखा अस्पताल बनाइदिन प्रतिष्ठानसित माग गर्दै त्यसका लागि प्रदेश सरकारले सघाउने बताए ।
अस्ट्रेलियन दातृ संस्था द फ्रेड हलोज फाउन्डेसनको करिब ३० करोड लागतमा बाल, अपांगता र वृद्धवृद्धामैत्री सुविधायुक्त चार तले भवनमा अत्याधुनिक उपकरणबाट शल्यक्रिया, आकस्मिक सेवासहितको उपचार सेवा दिँदै अस्पताल सञ्चालनमा आएको हो । मधेस प्रदेशमा यो स्तरको तिलगंगा अस्पताल पहिलो र उपत्यकाबाहिरको सबभन्दा ठूलो आँखा अस्पताल हो । तिलगंगा आँखा अस्पताल काठमाडौंका चिकित्सकबाट सस्तोमा गरिब, अति विपन्नलाई प्राथमिकता दिँदै सेवा दिइने अस्पताल प्रशासनले जनाएको छ ।
निजगढ नगरपालिकाले उपलब्ध गराएको १० कट्ठा जग्गामा निर्मित अस्पतालमा सेवा सुरु गरिएको हो । अस्पतालमा २ शल्यक्रिया कक्षमा ४ वटा शय्या, ओपीडी (बहिरंग), आईपीडे, एउटा पोस्ट अपरेटिभ वार्ड, फार्मेसी र चस्मा स्टोर छ । विभिन्न विधाका विशेषज्ञद्वारा विशिष्टीकृत आँखा उपचार सेवा दिएर प्रदेशमै गुणस्तरीय सेवा दिइने अस्पताल प्रशासनले जनायो ।






