कोल्हबीमा फुटबलको रौनक बढ्दै, असोज २६ देखि नगर लिग; ९ क्लब उपाधिको दौड
कोल्हबी (बारा)। स्थानीय फुटबल खेलको विकास र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यसहित बाराको कोल्हबीमा प्रथम नगर लिग फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा असोज २६ गतेदेखि सुरु हुने प्रतियोगितामा नगरभित्रका ९ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्।
कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभालाई खेलकुद क्षेत्रमा अगाडि बढाउने लक्ष्य राखिएको छ।
नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको खेल कौशल अभिवृद्धि गर्न र नगरभित्र फुटबलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। उनले स्थानीयस्तरमा रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने टोलीले ४० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। तीनै स्थान हासिल गर्ने टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि कुल ९ लाख ८३ हजार ९ सय ५० रुपैयाँ अनुमानित बजेट निर्धारण गरिएको छ। यसले कोल्हबीमा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउँदै युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा अग्रज व्यक्तित्व नन्दलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समाजसेवी भुवन प्रसाद चौधरी, जोगिन्द्र चौधरी तथा नेपाल विद्यार्थी संघ बारा सभापति समीर चौधरीलगायतको पनि उपस्थिति रहेको थियो।

स्थानीय खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, फुटबलको स्तर उकास्ने र नगरको खेलकुद क्षेत्रलाई नयाँ गति दिने लक्ष्य राखिएको प्रतियोगिताले कोल्हबीका फुटबलप्रेमीमा उत्साह थप्ने आयोजकको विश्वास छ।
आयोजकले असोज २६ गते दिउँसो २ बजे मठवा फिल्डमा हुने उद्घाटन समारोहमा खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरेको छ।











