बारा

“शून्यबाट रास्वपाको जग बसाल्ने चन्दन स्वर्णकारमाथि नै किन बढ्दैछ दबाब ?”

सुरज विक्रम, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकार यतिबेला पार्टीभित्रको राजनीतिक दबाबको केन्द्रमा पुगेका छन्। तर उनीमाथि उठाइएका प्रश्नसँगै एउटा अर्को बहस पनि तीव्र बनेको छ — “बारा जिल्लामा रास्वपाको संगठन निर्माण गर्ने व्यक्ति आखिर को ?”

स्थानीय कार्यकर्ताहरूका अनुसार बारा जिल्लामा रास्वपाको नामसमेत खासै नचिनिएको समयमा गाउँ–गाउँ पुगेर संगठन विस्तार गर्ने, युवाहरूलाई पार्टीसँग जोड्ने, वडा तथा पालिका तहसम्म समिति गठन गर्ने काममा चन्दन स्वर्णकारले अग्रणी भूमिका खेलेका थिए। सीमित स्रोत, ठूलो चुनौती र पुराना दलहरूको दबाबबीच पनि उनले जिल्लामा रास्वपाको बलियो उपस्थिति खडा गरेको कार्यकर्ताहरू बताउँछन्।

कार्यकर्ताहरूको भनाइमा “आज बारा जिल्लामा रास्वपाले राजनीतिक पहिचान बनाउनुको पछाडि चन्दन स्वर्णकारको निरन्तर मेहनत, संघर्ष र संगठनप्रतिको समर्पण मुख्य कारण हो।” उनीहरूले चुनावदेखि आन्दोलनसम्म हरेक मोर्चामा स्वर्णकार अग्रपंक्तिमा देखिएको उल्लेख गरेका छन्।

पछिल्लो समय पार्टीभित्र केही नेताहरू र माननीयहरूसँग मतभेद बढेपछि स्वर्णकारमाथि राजीनामा वा कारबाहीको दबाब सिर्जना भएको चर्चा चलिरहेको छ। तर उनको पक्षमा उभिएका कार्यकर्ताहरू भने “जिल्लामा पार्टीको जग बसाल्ने व्यक्तिलाई नै कमजोर बनाउन खोजिएको” आरोप लगाइरहेका छन्।

“चार–चार जना माननीय एकातिर हुँदा पनि चन्दन स्वर्णकार एक्लै संगठन जोगाउन खटिरहेका छन्,” एक कार्यकर्ताले भने, “उहाँ पदका लागि होइन, संगठनका लागि लडिरहनुभएको छ।”

राजनीतिक विश्लेषकहरूका अनुसार बारा जिल्लामा रास्वपाको भविष्य अब चन्दन स्वर्णकारको राजनीतिक यात्रासँग समेत जोडिन थालेको देखिन्छ। पार्टीभित्रको यो विवादले आगामी दिनमा बाराको रास्वपा राजनीतिमा नयाँ मोड ल्याउने संकेत समेत गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *