प्रदेश खबर बारा मधेस प्रदेश

जितपुरसिमरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व वडा सदस्यको मृत्यु

बाराको पथलैयामा शुक्रबार राती बसले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का पूर्व वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा १६ टांगियाबस्तीका अम्बर बहादुर घिसिङ रहेका छन् ।

घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको नगर कमिटी सदस्य समेत हुन् ।

पथलैयाबाट टांगियाबस्तीतर्फ जाने क्रममा घिसिङ सवार बा५९प ४२१० नम्बरको मोटरसाइकललाई दुई नम्बर पुलमा बसले ठक्कर दिएको थियो । घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा टांगियाबस्तीकै मनोहर सुस्लिङ मगर घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।

वडाध्यक्ष खरेलले दुर्घटनामा टांगियाबस्तीले ठूलो क्षति व्यहोर्नुपरेको बताए । घिसिङ टांगियाबस्तीमा अगुवा समाजसेवीका रुपमा समेत सक्रिय थिए ।

घिसिङको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *