अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

माननीय गणेश धिमालको ध्यानाकर्षण : कोल्हबी वडा नं. ५ मा अनुगमन र किसानका पीडा सुन्ने बेला कहिले आउँछ ?

बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमालप्रति कोल्हबी नगरपालिका वडा नं. ५ का स्थानीयवासी तथा समर्थक कार्यकर्ताले प्रत्यक्ष अनुगमनको माग गरेका छन्। निर्वाचन सम्पन्न भएर लामो समय बितिसक्दा पनि वडा नं. ५ का नागरिकसँग समन्वय, भेटघाट तथा समस्या बुझ्ने काम प्रभावकारी रूपमा हुन नसकेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।

कोल्हबी नगरपालिकाभित्र सबैभन्दा बढी पोखरी रहेको तथा माछा उत्पादनको प्रमुख केन्द्रका रूपमा चिनिएको वडा नं. ५ मा अधिकांश परिवार वर्षौंदेखि मत्स्यपालन व्यवसायमा निर्भर छन्। तर उत्पादन अनुसार उचित बजार व्यवस्थापन नहुँदा किसानले माछाको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्। बिचौलियाको नियन्त्रणका कारण वास्तविक उत्पादक किसान मारमा परेको उनीहरूको भनाइ छ।

स्थानीय किसानहरूका अनुसार सरकारी अनुदान, सहुलियत र आवश्यक सहयोग वास्तविक माछापालकसम्म प्रभावकारी रूपमा पुगेको छैन। पहुँच, सिफारिस र निकटताका आधारमा सुविधा वितरण हुने प्रवृत्तिले मेहनत गर्ने किसान निराश बनेको आरोपसमेत लगाइएको छ।

वडा नं. ५ लाई कृषि तथा मत्स्य उत्पादनको केन्द्रका रूपमा विकास गर्न स्पष्ट मापदण्ड, कानुनी व्यवस्था, बजार पहुँच, चिस्यान केन्द्र, तालिम तथा आधुनिक प्रविधि आवश्यक रहेको स्थानीयको माग छ।

Screenshot

स्थानीयवासीहरू प्रश्न गर्छन्, “माननीय गणेश धिमालज्यू एकपटक वडा नं. ५ मा आएर प्रत्यक्ष अवस्था बुझ्ने बेला कहिले आउँछ ? किसानका पीडा सुन्ने समय कहिले मिल्छ ?”

उत्पादनशील क्षेत्रका रूपमा परिचित वडा नं. ५ लाई प्राथमिकतामा राखी ठोस योजना, किसानमैत्री नीति र प्रत्यक्ष अनुगमनको आवश्यकता रहेको आवाज अहिले झन् बलियो बन्दै गएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *