अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवीका लघुवित्त संस्थामा श्रमशोषणको आरोप, महिला कर्मचारी सबैभन्दा बढी पीडित

कोल्हवी नगरपालिका–१ क्षेत्रमा सञ्चालित केही लघुवित्त वित्तीय संस्थामा कार्यरत तल्लो तहका कर्मचारी, विशेषगरी महिला कर्मचारीमाथि श्रमशोषण र दुव्र्यवहार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

स्थानीय स्रोतका अनुसार कार्यालय समय सकिएको भन्दै साँझ ५ बजे नै हाजिरी गराइने गरिएको छ। तर त्यसपछि पनि कर्मचारीहरूलाई राति ८, ९, १० यहाँसम्म कि ११ बजेसम्म विभिन्न काममा खटाइने गरिएको बताइएको छ। यति ढिलोसम्म काम गराउँदा पनि संस्थाले अतिरिक्त पारिश्रमिक उपलब्ध नगराउने तथा राति घर फर्किने क्रममा कर्मचारीको सुरक्षाको कुनै जिम्मेवारी नलिने गुनासो बढ्दै गएको छ।

पीडित कर्मचारीहरूले “कार्यालयले जिम्मेवारी नलिने, थप पारिश्रमिक पनि नदिने अवस्थाले आफूहरू अन्यायमा परेको” बताएका छन्। उनीहरूका अनुसार महिला कर्मचारीहरू राति अबेरसम्म काम गरेर घर फर्किनु परेपछि सुरक्षाको जोखिम समेत बढेको छ।

यस विषयमा सरोकारवाला निकाय तथा सञ्चारमाध्यममार्फत तत्काल अनुगमन गरी यस्ता गतिविधि रोक्न स्थानीयहरूले माग गरेका छन्। साथै, “कार्यालयबाट कर्मचारी जुन समयमा घर फर्किन्छन्, त्यही समयलाई वास्तविक हाजिरी समय मानिनुपर्ने” माग समेत अघि सारिएको छ।

स्थानीय बासिन्दा र कर्मचारीहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै श्रम अधिकारको संरक्षण र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न पहल गर्न आग्रह गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *