प्रदेश खबर बारा मधेस प्रदेश

बारा क्षेत्र नं. १ मा सार्वजनिक जग्गा र एलानी जग्गाबारे बढ्दो बहस, सांसद गणेश धिमाल चाँडै जनतामाझ आउने तयारी

बारा — पछिल्लो समय बारा क्षेत्र नं. १ मा “एलानी जग्गा” र “सरकारी/सार्वजनिक जग्गा” सम्बन्धी विषय व्यापक बहसको केन्द्र बनेपछि स्थानीय जनतामा अन्योल र चासो बढेको छ। विशेषगरी वास्तविक बसोबासी, अव्यवस्थित बासिन्दा तथा सार्वजनिक जग्गासम्बन्धी विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अब जनतालाई वास्तविक तथ्य बुझाउन प्रतिनिधिसभा सदस्य गणेश धिमाल चाँडै प्रत्यक्ष रूपमा जनतामाझ आउने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्थानीयस्तरमा फैलिएको भ्रम चिर्दै जनतालाई “एलानी जग्गा” र “सरकारी/सार्वजनिक जग्गा” बीचको स्पष्ट भिन्नता बुझाउन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक बासिन्दाको व्यवस्थापन एउटा विषय भए पनि सार्वजनिक सम्पत्तिमाथि पहुँचको आडमा गरिएको कब्जा अर्को गम्भीर विषय भएको स्थानीयको भनाइ छ।

यसैबीच केही दिनअघि कोल्हबी नगरपालिका वडा नं. ५ बाट सार्वजनिक गरिएको १५ दिने सूचनापछि स्थानीय बासिन्दामा त्रास र अन्योलको अवस्था सिर्जना भएको बताइएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका धेरै परिवारहरू आफ्नो भविष्यलाई लिएर चिन्तित बनेका छन्।

स्रोतका अनुसार सांसद धिमालले चाँडै नै क्षेत्रका विभिन्न स्थानमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, वास्तविक अवस्था बुझ्ने तथा कानुनी र तथ्यगत आधारमा विषय स्पष्ट पार्ने तयारी गरेका छन्।

स्थानीयवासीका अनुसार अहिले धेरै सर्वसाधारण त्रासमा रहेका छन्। तर अब वास्तविकता बाहिर आउने र जनताको पक्षमा स्पष्ट धारणा सार्वजनिक हुने अपेक्षा बढ्दै गएको छ।

“अब यहाँका जनताले त्रासमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, सत्य तथ्य जनतासामु आउनुपर्छ,” भन्ने आवाज क्षेत्रभर उठ्न थालेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *