कोल्हबीको रोज उड होटलबाट मोटरसाइकल चोरी, प्रहरीकै संरक्षणमा आरोपी उम्काइएको आरोप
बारा, कोल्हबी । कोल्हबीस्थित Rose Wood Hotel बाट चोरी भएको मोटरसाइकल प्रकरणले इलाका प्रहरी कार्यालय कोल्हबीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। सीसीटीभी फुटेजमार्फत शंकास्पद व्यक्ति पहिचान हुँदाहुँदै पनि प्रहरीले आरोपीलाई २४ घण्टा नबित्दै छाडेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा तीव्र असन्तोष फैलिएको छ।
जिल्ला खेलकुद विकास समिति कलैयाका कार्यालय प्रमुख हेमलाल श्रेष्ठको एसपी नम्बरको Honda Shine मोटरसाइकल यही जेठ ९ गते दिउँसो करिब ११ बजेदेखि १२ बजेको बीचमा होटल परिसरबाट चोरी भएको थियो। घटना भएपछि खोजी कार्य अघि बढाइए पनि प्रहरीले तत्काल प्रभावकारी कदम चाल्न नसकेको गुनासो पीडित पक्षको छ।
घटनाको दुई दिनपछि मात्रै होटलको सीसीटीभी फुटेजबाट मोटरसाइकल लिएर गएको व्यक्ति देखिएको बताइएको छ। फुटेजमा स्पष्ट दृश्य देखिएपछि प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ। तर, “पीडितले औपचारिक उजुरी नदिएको” कारण देखाउँदै इलाका प्रहरी कार्यालय कोल्हबीले ती व्यक्तिलाई २४ घण्टाभित्रै छाडेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार प्रहरीले पक्राउ गरिएको व्यक्तिको नाम, विवरण वा घटनासम्बन्धी कुनै जानकारी सार्वजनिक नगरी चुपचाप छाडेको बताइएको छ। यसले चोरीजस्ता घटनामा संलग्न व्यक्तिको मनोबल झन् बढ्ने स्थानीयको भनाइ छ। होटल सञ्चालकले समेत “यसरी पक्राउ परेका बाइक चोरलाई उजुरी नभएको बहानामा २४ घण्टामै छाडिँदा अपराधी झन् हौसिने अवस्था सिर्जना हुन्छ” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासीले “सीसीटीभीमा प्रमाण हुँदाहुँदै पक्राउ परेका व्यक्तिलाई छाडिनु सामान्य घटना होइन” भन्दै प्रहरीकै भूमिकामाथि शंका व्यक्त गरेका छन्। उनीहरूले अपराध नियन्त्रण गर्नुपर्ने निकायबाटै आरोपीलाई संरक्षण दिने काम भएको आरोप लगाएका छन्।
पीडित पक्षले “प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुभन्दा उल्टै आरोपीलाई जोगाउने प्रयास गरेको” दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्।
कोल्हबी क्षेत्रमा पछिल्लो समय चोरी, लुटपाट तथा आपराधिक गतिविधि बढ्दै गएको स्थानीयको भनाइ छ। “प्रहरीको कमजोर सक्रियता र पक्राउ परेकालाई सजिलै उन्मुक्ति दिने प्रवृत्तिले अपराधीको मनोबल बढेको” भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।






