कृषि, शिक्षा र पूर्वाधारमा जोड; पचरौताले ल्यायो ६१ करोड ४१ लाखको बजेट
बारा, पचरौता। पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ।
सोमबार सम्पन्न १६औँ नगरसभामा नगरप्रमुख जलान्धर सिंहको अध्यक्षतामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। नगरसभामा प्रस्तुत बजेटले स्थानीय आर्थिक विकास, रोजगार सिर्जना, आधारभूत सेवा विस्तार तथा सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले पचरौताको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित बजेट तयार गरिएको बताए। उनले कृषि उत्पादनमा वृद्धि, शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा पूर्वाधार निर्माणलाई नगरको विकासको आधारस्तम्भका रूपमा अघि बढाइने उल्लेख गरे। उनले बजेट कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे।
नगरप्रवक्ता लक्ष्मी यादवद्वारा प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानिकरण, सशर्त, विशेष तथा समपूरक अनुदानसहित राजश्व बाँडफाँडमार्फत ठूलो हिस्सा प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजश्व बाँडफाँडको रकम समेत बजेटमा समावेश गरिएको छ।
नगरपालिकाले आगामी वर्षका लागि आन्तरिक आय ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने स्थानीय राजश्व बाँडफाँडबाट ३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यसका साथै बैंक मौज्दातमा रहेको ६ करोड रुपैयाँ समेत समेटेर कुल आय–व्यय अनुमान ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ।
प्रस्तुत बजेटमा कृषिलाई उत्पादनमुखी र व्यवसायिक बनाउने कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य संस्थाको क्षमता विस्तार, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाइ व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, सामाजिक सुरक्षा तथा महिला र युवामुखी कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
नगरसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख नसिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशी, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख सिंहले नगरको विकास र समृद्धिको यात्रामा योगदान पुर्याउने नागरिक, करदाता, विकास साझेदार तथा सरकारी–गैरसरकारी संस्थाप्रति आभार व्यक्त गर्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए।








