बारा मधेस प्रदेश

निजगढमा सामान्य विवादले लियो हिंसात्मक रूप, दाउ प्रहारबाट एक गम्भीर घाइते

सुरज बिक्रम, बारा

बाराको निजगढ नगरपालिका–१ सिगौलस्थित गोरु बजार क्षेत्रमा दुई स्थानीयबीच भएको भनाभनले उग्र रूप लिँदा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न आरोपितलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११:५० बजेको समयमा स्थानीय ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच सामान्य विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा घिमिरेले मासु काट्न प्रयोग हुने दाउ प्रहार गरेका थिए। दाउ प्रहारबाट योन्जनको टाउको र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीको सहयोगमा घाइतेलाई तत्काल निजगढ सिटी अस्पताल लगिएको थियो। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा पाँच जना र अस्थायी प्रहरी पोस्ट सिगोलबाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको नेतृत्वमा दुई जना प्रहरी परिचालन गरिएको थियो। सात सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गर्नुका साथै आरोपित धनबहादुर घिमिरेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखेको जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। दुवै पक्षसँग बयान लिने, घटनास्थलबाट प्रमाण संकलन गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी कारबाही अगाडि बढाइने जानकारी दिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *