प्रदेश खबर राष्ट्रिय

कपुरकोट गाउँपालिका–२ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा, दिगोपनका लागि सरोकारवालाद्वारा प्रतिबद्धता पत्रमा हस्ताक्षर

सुरज बिक्रम,सल्यान, असार २३। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–२ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा “पूर्ण संस्थागत सुत्केरी स्थानीय तह दिगोपनका लागि प्रतिबद्धता पत्र” मा सरोकारवालाहरूले हस्ताक्षर गर्दै अभियानलाई दीर्घकालसम्म प्रभावकारी रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

२०८३ साल असार २३ गते सम्पन्न उक्त कार्यक्रमको सभापतित्व वडा नं. २ का वडा अध्यक्ष ईश्वर बुढा ले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन ले परम्पराअनुसार पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा वडा नं. २ अन्तर्गत रहेका सातवटै आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई अझ सुदृढ बनाउने तथा संस्थागत प्रसूति सेवालाई समुदायको पहिलो रोजाइ बनाउने विषयमा छलफल गरिएको थियो। सोही अवसरमा “पूर्ण संस्थागत सुत्केरी स्थानीय तह दिगोपनका लागि प्रतिबद्धता पत्र” मा स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा अन्य सरोकारवालाहरूले हस्ताक्षर गर्दै अभियानलाई सफल र दिगो बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन ले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले मातृ तथा शिशु स्वास्थ्य सुधारमा गर्पा स्वास्थ्य चौकीले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै गर्पा स्वास्थ्य चौकी प्रमुख भूमिका पुनसहित सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै सातवटै आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा स्वास्थ्य सेवा विस्तार गर्न सबैलाई आग्रह गर्नुभयो। गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी ले कपुरकोट गाउँपालिका–२ नेपालभर सातौं तथा कर्णाली प्रदेशको चौथो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यो उपलब्धि गाउँपालिकाका लागि गौरवको विषय भएको उल्लेख गर्दै गर्पा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सातवटै आमा समूह, जनप्रतिनिधि तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आगामी दिनमा पनि अझ उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै नयाँ उपलब्धि हासिल गर्न सबैले निरन्तर समर्पणका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका अवसरमा वडा नं. २ भरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो। सुरक्षित मातृत्व, संस्थागत सुत्केरी सेवा प्रवर्द्धन तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न उहाँहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

औपचारिक कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रमले पनि विशेष आकर्षण थपेको थियो। वडा नं. २ अन्तर्गत रहेका सातवटै आमा समूहका सदस्यहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। स्थानीय कला, संस्कृति र सामुदायिक एकताको झल्को दिने प्रस्तुतिहरूले सहभागीहरूको मन जितेका थिए। नाचगान तथा सांस्कृतिक प्रस्तुतिपछि कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमको सञ्चालन गर्पा स्वास्थ्य चौकी प्रमुख भूमिका पुन ले गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य शाखा, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षित मातृत्व, संस्थागत सुत्केरी सेवा तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि निरन्तर समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणासँगै कपुरकोट गाउँपालिका–२ ले सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा मातृ–शिशु स्वास्थ्य सुधारतर्फ अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ। कार्यक्रममा व्यक्त प्रतिबद्धताअनुसार स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सुरक्षित मातृत्व अभियानलाई दीर्घकालीन रूपमा सफल बनाउने लक्ष्य लिइएको छ। सहभागीहरूले यो घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभई मातृ तथा शिशु स्वास्थ्य सुधारको दिशामा गाउँपालिकाले हासिल गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *