बारा मधेस प्रदेश

पत्रकारिताको नाममा अराजक गतिविधि बढेको भन्दै नेपाल पत्रकार महासंघ बाराको चेतावनी



बारा, साउन । नेपाल पत्रकार महासंघ, बारा शाखाले पछिल्लो समय पत्रकारिता र प्रेस स्वतन्त्रताको आवरणमा केही सञ्चारकर्मी तथा युट्युब च्यानलमार्फत भइरहेका गैरजिम्मेवार गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने, आधारहीन आरोप लगाउने तथा सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रकाशन–प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएको जनाएको हो।
महासंघका अनुसार नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि त्यसलाई कानुन र पत्रकारिताको आचारसंहिताभित्र रहेर प्रयोग गर्नुपर्ने दायित्व सबै सञ्चारकर्मीमा रहन्छ। स्वतन्त्रताको नाममा कुनै व्यक्ति, संस्था, शिक्षक, कर्मचारी वा आम नागरिकको प्रतिष्ठामा आँच पुग्ने गरी सामग्री उत्पादन गर्नु, सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सूचना फैलाउनु तथा शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने गतिविधि स्वीकार्य हुन नसक्ने महासंघले स्पष्ट गरेको छ।
विज्ञप्तिमा पत्रकारिता तथ्य, प्रमाण र सार्वजनिक हितमा आधारित हुनुपर्ने उल्लेख गर्दै व्यक्तिगत पूर्वाग्रह, सामाजिक सञ्जालको लोकप्रियता वा दर्शक बढाउने उद्देश्यले गरिने भ्रामक सामग्रीले समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठाउने चेतावनी दिइएको छ।
महासंघले यस्ता गतिविधि मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी रूपमा दण्डनीय हुन सक्ने स्मरण गराउँदै आचारसंहिता विपरीतका कार्यमा संलग्न भई कानुनी कारबाहीको दायरामा परेका सञ्चारकर्मी वा युट्युबरलाई महासंघले कुनै पनि प्रकारको भौतिक, नैतिक वा कानुनी सहयोग उपलब्ध नगराउने स्पष्ट घोषणा गरेको छ।
महासंघ बाराका सचिव पुष्पराज खतिवडाद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल मर्म, व्यावसायिक मूल्य–मान्यता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै काम गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ। साथै, नियामक निकायहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्दै आचारसंहिताविपरीत हुने गतिविधिमाथि प्रभावकारी अनुगमन गर्न र दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउन पनि माग गरिएको छ।
महासंघले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताको संरक्षण नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै श्रमजीवी पत्रकार, सञ्चार संस्था, नागरिक समाज तथा सरोकारवाला सबै पक्षलाई मर्यादित, तथ्यपरक र जिम्मेवार पत्रकारिताको पक्षमा एकजुट हुन आह्वान गरेको छ। विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षणसँगै त्यसको जिम्मेवार अभ्यास नै समाज, लोकतन्त्र र नागरिक अधिकारको हितमा हुने विश्वास व्यक्त गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *