अनुगमन भयो, चौतर्फी बहस पनि भयो, तर सम्बन्धित निकाय अझै मौन : कोल्हवीको शिक्षा सुधार कहिले?
सुरज बिक्रम,कोल्हवी, बारा । कोल्हवी नगरपालिका–३, थलीकट्टीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था केही समयअघि सार्वजनिक भएपछि स्थानीयस्तरमा व्यापक बहस र चासो उत्पन्न भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका सभापति थानेश्वर पहाडीको नेतृत्वमा नगर उपसभापति जितन चौधरी, नगर नेता सरिफ राना भाटसहितको टोलीले विद्यालयको स्थलगत अनुगमन गरी त्यहाँको शैक्षिक अवस्था, शिक्षक दरबन्दी, विद्यार्थी संख्या तथा व्यवस्थापनको अध्ययन गरेको थियो। अनुगमनपछि विद्यालयको अवस्थाबारे चौतर्फी चर्चा र आलोचना भए पनि सम्बन्धित निकायबाट हालसम्म कुनै ठोस सुधारात्मक पहल वा आधिकारिक धारणा सार्वजनिक नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।
अनुगमनका क्रममा विद्यालयमा २ जना स्थायी र ५ जना राहत दरबन्दी गरी ७ जना शिक्षक कार्यरत रहेको तथा बाल विकासमा १७, कक्षा १ मा १०, कक्षा २ मा ४ र कक्षा ३ मा ३ गरी जम्मा ३४ जना विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको थियो। शिक्षकको तुलनामा विद्यार्थी संख्या अत्यन्त न्यून देखिनुले विद्यालय सञ्चालनको प्रभावकारिता, शिक्षक व्यवस्थापन, सार्वजनिक स्रोत–साधनको उपयोग तथा शिक्षा प्रशासनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएको थियो।
अनुगमन टोलीले विद्यालयका प्रधानाध्यापक रामप्रसाद चौधरीसँग छलफल गर्दै पछिल्ला वर्षमा सामुदायिक विद्यालयबाट विद्यार्थी संख्या लगातार घट्दै जानुको कारणबारे जानकारी लिएको थियो। प्रधानाध्यापकले निजी विद्यालयतर्फ अभिभावकको आकर्षण बढ्नु, सामाजिक सोचमा आएको परिवर्तन तथा सीमित स्रोत–साधनका बीच विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यताका कारण चुनौती थपिएको बताएका थिए।
अनुगमनपछि रास्वपा कोल्हवी नगर समितिका सभापति थानेश्वर पहाडीले सामुदायिक विद्यालयको समस्या कुनै एउटा विद्यालयमा मात्र सीमित नभई समग्र शिक्षा प्रणालीसँग जोडिएको विषय भएको बताएका थिए। उनले विद्यार्थी संख्या घट्नुको वास्तविक कारण पहिचान गरी सुधारका लागि प्रभावकारी योजना लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षा शाखाले परिणाममुखी काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
नगर उपसभापति जितन चौधरीले सामुदायिक शिक्षाप्रति जनविश्वास घट्दै गएको भन्दै नगरभित्रका सबै सामुदायिक विद्यालयको वस्तुगत अध्ययन गर्नुपर्ने बताएका थिए। उनले शिक्षा क्षेत्रमा विनियोजित बजेटको प्रतिफल नागरिकले महसुस गर्न पाउनुपर्ने उल्लेख गर्दै पारदर्शी व्यवस्थापन, नियमित अनुगमन र जवाफदेहिताबिना शिक्षा सुधार सम्भव नहुने धारणा राखेका थिए।
त्यसैगरी नगर नेता सरिफ राना भाटले सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग भएको छ कि छैन भन्ने विषयमा शिक्षा शाखाले तथ्यसहित सार्वजनिक जानकारी दिनुपर्ने बताएका थिए। उनले विद्यार्थी संख्या किन घटिरहेको छ, हालसम्म सञ्चालन भएका शिक्षा सुधारका कार्यक्रमको उपलब्धि के हो र आगामी योजना के छन् भन्ने विषयमा नगरपालिकाले स्पष्ट रूपमा जानकारी दिनुपर्ने माग गरेका थिए।
अनुगमनका क्रममा स्थानीय अभिभावक तथा बासिन्दाले पनि विद्यालयको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए। उनीहरूले वर्षेनी विद्यार्थी संख्या घट्दै जानु, सामुदायिक विद्यालयप्रतिको अभिभावकको विश्वास कमजोर बन्दै जानु तथा सुधारका नाममा घोषणा गरिएका कार्यक्रमको प्रभाव व्यवहारमा नदेखिएको गुनासो गरेका थिए। उनीहरूको भनाइमा शिक्षा सुधारका लागि नीति र योजना बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन र नियमित मूल्याङ्कन पनि उत्तिकै आवश्यक हुन्छ।
स्थानीयवासीका अनुसार यो विषय पहिलो पटक उठेको होइन। विद्यालयको अवस्थाबारे अनुगमनपछि समाचार प्रकाशित भए, सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म व्यापक बहस भयो र शिक्षा सुधारको मागसमेत उठ्यो। तर त्यसपछि पनि कोल्हवी नगरपालिकाको शिक्षा शाखा, शिक्षा प्रमुख मिर्ऋी लाल साह तथा सम्बन्धित निकायबाट विद्यालय सुधारका विषयमा कुनै स्पष्ट सार्वजनिक धारणा वा ठोस सुधारात्मक पहल देखिएको छैन। यही कारण स्थानीयवासीले सम्बन्धित निकायको मौनतामाथि प्रश्न उठाइरहेका छन्।
यद्यपि, यस समाचारमा उल्लेख गरिएका विषय तथा उठाइएका प्रश्नबारे कोल्हवी नगरपालिका, नगर प्रमुख (मेयर) तथा शिक्षा प्रमुखको आधिकारिक प्रतिक्रिया यस समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन। उनीहरूको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समेटिनेछ।
स्थानीय सरोकारवालाको भनाइमा सामुदायिक विद्यालयप्रति जनविश्वास पुनःस्थापित गर्न गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, पारदर्शिता, नियमित अनुगमन तथा जवाफदेहितालाई व्यवहारमै लागू गर्न आवश्यक छ। अन्यथा विद्यार्थी संख्या निरन्तर घट्दै जाने र सामुदायिक विद्यालयको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्ने उनीहरूको चिन्ता छ।
रास्वपा टोलीले पनि थलीकट्टीस्थित विद्यालयको अवस्थालाई एउटा उदाहरणका रूपमा लिँदै नगरभित्रका अन्य सामुदायिक विद्यालयको समेत वस्तुगत अध्ययन, नियमित अनुगमन र सुधारका कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन नगरपालिकासँग आग्रह गरेको थियो। टोलीमा सभापति थानेश्वर पहाडी, नगर उपसभापति जितन चौधरी, नगर नेता सरिफ राना भाट, नगर समितिका अन्य पदाधिकारी, स्थानीय अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको थियो।








