दल बदलेका १० जनप्रतिनिधिको पद रिक्त, दुई उपाध्यक्ष पनि परे
सुरज बिक्रम, काठमाडौं । पुरानो राजनीतिक दल त्यागेर अर्को दलमा प्रवेश गरेका १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले सम्बन्धित जनप्रतिनिधिले दल त्याग गरेको विवरण सार्वजनिक गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पद गुमाउनेमा दुई जना गाउँपालिका उपाध्यक्ष र आठ जना वडाध्यक्ष रहेका छन्। उनीहरू २०७९ सालको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। पछि सम्बन्धित दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको विवरण आयोगमा प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी जनप्रतिनिधिको पद मधेस प्रदेशमा रिक्त भएको छ। मधेसका चार जना वडाध्यक्षको पद रिक्त भएको आयोगले जनाएको छ।
धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको हो।
त्यस्तै, कोशी प्रदेशमा तीन जनप्रतिनिधिको पद रिक्त भएको छ। खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको आयोगले जनाएको छ।
बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नं. ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पदसमेत दल त्यागका कारण रिक्त भएको छ।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलबाट निर्वाचित भएका केही जनप्रतिनिधिले पछि पार्टी परिवर्तन गरेका थिए। सम्बन्धित राजनीतिक दलका केन्द्रीय समितिको निर्णयसहित उनीहरूले दल त्याग गरेको विवरण आयोगमा पठाइएको थियो।
त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार प्रक्रिया अघि बढाएको जनाएको छ।
आयोगका अनुसार सम्बन्धित कानुनी व्यवस्थाअनुसार दल त्याग गरेको देखिएपछि उनीहरूले सम्हाल्दै आएको निर्वाचित पद रिक्त भएको हो। नियमावलीको नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि आयोगले सूचना प्रकाशित गरेको जनाएको छ।
यससँगै दल परिवर्तन गरेका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पदसम्बन्धी विषयमा निर्वाचन आयोगले कानुनी प्रक्रिया अघि बढाएको छ। रिक्त भएका पदमा आगामी प्रक्रियाअनुसार निर्वाचन वा अन्य कानुनी व्यवस्था कार्यान्वयन हुने आयोगले जनाएको छ।











