बारा राष्ट्रिय

कलैया अधिवेशन विवाद : रास्वपा बारामा उपनिर्वाचन खारेजीको माग, कार्यकर्ता आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला भित्र कलैया उपमहानगरपालिका अधिवेशनलाई लिएर विवाद चर्किएको छ । अधिवेशन सम्पन्न भई विजयी उम्मेदवारको घोषणा र शपथग्रहणसमेत भइसकेपछि पुनः उपनिर्वाचन गराइएको भन्दै पार्टी कार्यकर्ताले त्यसको खारेजीको माग गरेका छन् ।

कार्यकर्ताहरूले पार्टी नेतृत्वमाथि विधानविपरीत निर्णय गरेको आरोप लगाउँदै लोकतान्त्रिक प्रक्रियामाथि हस्तक्षेप भएको बताएका छन् । उनीहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका थिए । निर्वाचन प्रक्रिया सकिएपछि विजयी घोषणा, माला–अबिर तथा शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भएको दाबी गरिएको छ ।

तर अधिवेशन सकिएको दुई दिनपछि अचानक ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना सार्वजनिक गरिएको भन्दै कार्यकर्ताले आपत्ति जनाएका छन् । रास्वपा कार्यकर्ता धिराज पटेलका अनुसार उक्त सूचना कुनै आधिकारिक लेटरप्याड, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामबिनै साधारण कागजमा सार्वजनिक गरिएको थियो, जसले थप शंका उत्पन्न गरेको बताए ।

“यदि ५० प्रतिशतभन्दा बढी मत नपुगेको आधारमा पुनः निर्वाचन गराउनु थियो भने त्यो कुरा निर्वाचनकै दिन किन उठाइएन ? विजयी घोषणा गरिसकेपछि फेरि निर्वाचन गराउनु कुन विधानमा लेखिएको छ ?” भन्दै कार्यकर्ताले प्रश्न उठाएका छन् ।

उनीहरूले पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको आरोप लगाउँदै नतिजा सार्वजनिक भइसकेपछि पुनः प्रक्रिया अघि बढाउनु अनुचित र अलोकतान्त्रिक भएको बताएका छन् । साथै, उपनिर्वाचन सीमित प्रतिनिधिबीच मात्रै गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाइएको छ ।

कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग उपनिर्वाचन गराउनुको स्पष्ट आधार सार्वजनिक गर्न, सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन तथा निष्पक्ष ढंगले पुनः निर्णय गर्न माग गरेका छन् । उनीहरूले परिवर्तन र वैकल्पिक राजनीतिक संस्कारको आशामा रास्वपामा आबद्ध भएको तर पछिल्लो घटनाक्रमले पार्टीभित्रकै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताएका छन् ।

कलैया अधिवेशन विवादले अहिले रास्वपा बारा भित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको देखिएको छ । पार्टी नेतृत्वले समयमै स्पष्ट धारणा सार्वजनिक नगरे विवाद थप गहिरिन सक्ने कार्यकर्ताहरूको चेतावनी छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *