“चन्दन स्वार्न्कारलाई निष्कासन गरेर बाराका चार सांसदले के पाए ? संगठन जोगाए कि सकाए ?”
सुरज विक्रम , बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वार्न्कारलाई पार्टीबाट निष्कासन गरेपछि बारा जिल्लाको राजनीति फेरि तातिएको छ । तर अहिले जनस्तरमा उठिरहेको मुख्य प्रश्न एउटै छ—
“यो निर्णय संगठन बचाउन गरिएको हो कि फरक आवाज दबाउन ?”
रास्वपाले “नयाँ राजनीति” को नारा दिएर जनताको मत जित्यो । तर आज त्यही पार्टीभित्र आफ्नै जिल्ला सभापतिलाई निष्कासन गर्नुपर्ने अवस्था आउनु बारा जिल्लामा नेतृत्व असफल भएको संकेतका रूपमा हेरिन थालेको छ ।
राजनीतिक वृत्तमा चर्चा छ— बारा जिल्लाका चार सांसद आफ्नो प्रभाव कायम राख्न संगठनभित्र फरक धार समाप्त पार्ने खेलमा लागेका छन् । जनताले विकास, सुशासन र पारदर्शिता खोजिरहेका बेला नेताहरू भने आन्तरिक शक्ति संघर्षमै व्यस्त देखिएको आरोप लाग्न थालेको छ ।

चन्दन स्वार्न्कारलाई लामो समयदेखि संगठन निर्माणमा खटिएको नेताका रूपमा चिनिन्थ्यो । गाउँ–गाउँमा पार्टी पुर्याउने, कार्यकर्ता जोड्ने र संगठन विस्तार गर्ने काममा सक्रिय व्यक्ति नै अन्ततः निष्कासित भएपछि अहिले कार्यकर्तामाझ असन्तुष्टि बढ्न थालेको बताइन्छ ।
स्थानीय कार्यकर्ताहरू खुलेर भन्न थालेका छन्—
“जनताको लागि लड्ने होइन, आफ्नो विरोध गर्ने हटाउने राजनीति सुरु भयो ।”
कतिपयले त यो कदमलाई “रास्वपाभित्र पनि पुरानै राजनीतिक रोग सुरु भएको संकेत” भनेर टिप्पणी गर्न थालेका छन् । नयाँ पार्टी भनेर आशा गरेका युवाहरू अहिले निराश बन्दै गएको चर्चा राजनीतिक वृत्तमा सुनिन थालेको छ ।
जनताले सांसदहरूबाट विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारविरुद्धको काम अपेक्षा गरेका थिए । तर अहिले बारा जिल्लामा चर्चा विकासको होइन, निष्कासन र आन्तरिक किचलोको भइरहेको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्—
“जिल्ला सभापति हटाएर संगठन बलियो हुँदैन । विचार र कार्यकर्ता हटाउँदै जाँदा पार्टी कमजोर बन्छ ।”
अब हेर्न बाँकी छ—
चन्दन स्वार्न्कारलाई निष्कासन गरेर बाराका चार सांसदले आफ्नो शक्ति देखाए,
वा आफ्नै पार्टीको भविष्य कमजोर बनाए ?







