बारा मधेस प्रदेश

मधेशको मुद्दा केन्द्रमा पुर्‍याउने प्रतिबद्धतासहित गणेश घिमाल केन्द्रीय सदस्यको दौडमा

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। यसैक्रममा मधेश प्रदेशबाट अधिवक्ता गणेश घिमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

रास्वपाका मधेश प्रदेश सह–महामन्त्रीसमेत रहेका घिमालले भूगोलतर्फको कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। बारा क्षेत्र नम्बर १ का घिमालले मधेशका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उम्मेदवारी घोषणासँगै उनले “स्वच्छ राजनीति, सक्षम नेतृत्व र समृद्ध मधेश” लाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। कानुनी शासनको सुदृढीकरण, मधेशको अधिकार सुनिश्चितता, सुशासनको प्रवर्द्धन तथा विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

घिमालले पार्टीभित्र मधेश प्रदेशको प्रतिनिधित्व अझ बलियो र प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहदेखि संघीय संरचनासम्म देखिएका समस्याको समाधानका लागि केन्द्रीय तहमा मधेशको सशक्त उपस्थिति अपरिहार्य रहेको धारणा राखेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुने तयारी भइरहेका बेला विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। यसबीच गणेश घिमालको उम्मेदवारीलाई मधेशको प्रतिनिधित्व, नयाँ पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ।

महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले घिमालको उम्मेदवारीले विशेषगरी मधेश प्रदेशमा व्यापक चासो र चर्चा बटुलेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *