राजनीतिबाट टाढा” भन्ने रास्वपाकै भेलामा सरकारी कर्मचारी निर्मल यादवको हंगामा
सुरज बिक्रम ,बारा ।
“सरकारी कर्मचारी राजनीतिबाट टाढा बस्नुपर्छ” भन्ने भाषण दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराकै विस्तारित बैठकमा भने सरकारी कर्मचारी नै खुलेआम झगडामा उत्रिएको घटना बाहिरिएको छ ।
कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित रास्वपा बाराको विस्तारित बैठकमा पार्टीभित्रको आन्तरिक विवाद चर्किँदा निजगढ नगरपालिकाको पशु स्वास्थ्य विभागमा कार्यरत कर्मचारी निर्मल कुमार यादव कार्यकर्तासँग भनाभन र विवादमा सक्रिय रूपमा देखिएको आरोप लागेको हो ।
पार्टीभित्र पुराना कार्यकर्तालाई पाखा लगाएर नयाँ समूहलाई अगाडि ल्याउन खोजिएको भन्दै असन्तुष्ट पक्ष आक्रोशित बनेपछि बैठकस्थल केही समय तनावग्रस्त बनेको थियो । सोही क्रममा निर्मल यादव समेत कार्यकर्तासँग चर्काचर्कीमा उत्रिएको भन्दै सहभागीहरूले आपत्ति जनाएका छन् ।
“सरकारी जागिर खाने व्यक्ति पार्टीको आन्तरिक झगडामा किन सक्रिय भयो ?” भन्दै केही कार्यकर्ताले बैठकस्थलमै प्रश्न उठाएका थिए । प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा नाराबाजी, धकेलाधकेल र झण्डै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।
विवादको मुख्य कारण जिल्ला सभापति चन्दन सराफ स्वर्णकारमाथि गरिएको कारवाही तथा निष्कासन सिफारिस रहेको बताइएको छ । उक्त निर्णय विधि र विधान मिचेर गरिएको आरोप लगाउँदै असन्तुष्ट समूहले नेताविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
रास्वपाले सार्वजनिक रूपमा सुशासन, नैतिकता र कर्मचारीलाई राजनीतिबाट अलग राख्ने कुरा गर्दै आएको भए पनि आफ्नै बैठकमा सरकारी कर्मचारीको सक्रिय सहभागिता देखिनुले पार्टीभित्रको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ ।
घटनाबारे रास्वपा नेतृत्व तथा कर्मचारी निर्मल कुमार यादवको औपचारिक प्रतिक्रिया भने हालसम्म आएको छैन । सम्पर्क गर्दा उनको मोबाइल नम्बर बन्द रहेको बताइएको छ ।






