प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा निजगढ नगर समितिको पार्टी कार्यालय उद्घाटन सम्पन्न, संगठन विस्तारमा जोड

बारा जिल्लाको निजगढ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समितिको नयाँ पार्टी कार्यालयको समुद्घाटन गरिएको छ। शुक्रबार, २०८३ साल वैशाख ११ गते सम्पन्न उक्त कार्यक्रमलाई पार्टी संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

उक्त पार्टी कार्यालयको औपचारिक उद्घाटन प्रमुख अतिथि माननीय गणेश धिमालज्यूले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जनस्तरसम्म मजबुत बनाउन संगठनात्मक संरचना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले रास्वपा पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवामा केन्द्रित भएर अघि बढिरहेको उल्लेख गर्दै स्थानीय तहमा सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नगर समिति, प्रदेश तथा जिल्ला तहका नेताहरूले आफ्नो धारणा राख्दै नयाँ कार्यालयले संगठन विस्तार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

यस अवसरमा नगर समिति पदाधिकारीहरूको पनि परिचय गराइएको थियो। जसअनुसार निजगढ नगर सभापतिमा अर्जुन अधिकारी, प्रदेश सदस्यमा सजना उप्रेती, जिल्ला सचिवमा रामहरि खरेल, क्षेत्रीय उपसभापतिमा नेत्र कार्की तथा माननीय सचिवालयमा हरिओम रौनियार रहेका छन्।

नेताहरूका अनुसार नयाँ पार्टी कार्यालयले स्थानीय तहमा संगठनात्मक गतिविधि व्यवस्थित गर्न, जनताको समस्या संकलन गर्न तथा पार्टीको नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन केन्द्रका रूपमा काम गर्नेछ। साथै, युवाहरूलाई राजनीतिमा सक्रिय बनाउन र नेतृत्व विकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उद्घाटनपछि उपस्थित कार्यकर्ताहरूबीच संगठन विस्तार, आगामी योजना तथा स्थानीय राजनीतिक अवस्थाबारे समेत छलफल गरिएको बताइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *