प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपामा उठ्यो ‘पकेट संगठन’ बहस

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) को महाधिवेशन प्रतिनिधित्व खारेज गरिएपछि पार्टीभित्रको विवाद खुला बहसको विषय बनेको छ। सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी घोषणा गरेका गुप्ताको नाम अन्तिम प्रतिनिधि सूचीबाट हटाइएपछि मधेश प्रदेशमा संगठन सञ्चालन, नेतृत्वको भूमिका र आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठ्न थालेका छन्।

गुप्ताले आफू निर्वाचित क्षेत्रीय सभापति हुँदाहुँदै प्रतिनिधित्वको अधिकारबाट वञ्चित गरिएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार प्रारम्भिक प्रतिनिधि सूचीमा नाम समावेश भए पनि अन्तिम सूची सार्वजनिक हुँदा नाम हटाइएको थियो। उनले उम्मेदवारी घोषणा गरेकै कारण आफूलाई प्रतिनिधित्वबाट वञ्चित गरिएको दाबी गरेका छन्।

गुप्ताले निष्कासित बारा जिल्ला सभापति चन्दन स्वर्णकारको साधारण सदस्यता फुकुवा गराउनुपर्ने एकसूत्रीय एजेन्डासहित रास्वपा सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए। उनले सार्वजनिक गरेको पोस्टरमा “चन्दन स्वर्णकारको सदस्यता फुकुवा गराउनका लागि मेरो उम्मेदवारी” भन्ने सन्देश उल्लेख थियो।

यता रास्वपाका सहमहामन्त्री तथा बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले भने गुप्ताको प्रतिनिधित्व खारेज हुनु निर्वाचन समितिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन्। उनले गुप्ताको पृष्ठभूमि विवादित रहेको र तीन महिनाअघि नै कारबाही सिफारिस भइसकेको दाबी गर्दै गुप्ताको “हैसियत” नै सभापति पदमा उम्मेदवारी दिन पुग्ने नरहेको अभिव्यक्ति दिएका थिए।

तर धिमालको यही अभिव्यक्तिपछि मधेश प्रदेशका कतिपय कार्यकर्ता तथा समर्थकहरू खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्। सामाजिक सञ्जालमा केही समर्थकहरूले रास्वपाको मधेश संगठन सीमित व्यक्तिहरूको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाउँदै “मधेशको रास्वपा अहिले गणेश धिमालको पकेट संगठनजस्तै बनेको” टिप्पणी गरेका छन्।

विवादको अर्को केन्द्रमा हरिओम रौनियारको नाम पनि जोडिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका पुराना पोस्टहरूमा रौनियारले आफूलाई “माननीय गणेश धिमालज्यूको सचिवालय” भनेर परिचय गराएको देखिन्छ। यसैलाई आधार बनाउँदै केही कार्यकर्ताहरूले पार्टीभित्र निर्णय प्रक्रियामा अनौपचारिक प्रभाव समूह सक्रिय रहेको आरोप लगाएका छन्।

एक समर्थकले सामाजिक सञ्जालमा टिप्पणी गर्दै बारा जिल्लामा पछिल्लो समय देखिएका अधिकांश संगठनात्मक विवादहरूको जड गणेश धिमाल निकट समूहभित्र रहेको दाबी गरेका छन्। ती समर्थकका अनुसार हरिओम रौनियार र निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारबीच विकसित भएको व्यक्तिगत सम्बन्ध र पछिल्लो मनमुटावले जिल्लाको राजनीतिक विवादलाई थप चर्काएको हो।

उनीहरूको दाबी अनुसार जिल्ला अधिवेशनमा भएको कुटाकुट, चन्दन स्वर्णकारमाथिको कारबाही, संगठनभित्रको ध्रुवीकरण र अहिले भोला साह कानुको प्रतिनिधित्व खारेजीसम्मका घटनाहरूलाई छुट्टाछुट्टै नभई एउटै श्रृंखलाका रूपमा हेर्न थालिएको छ। कतिपय कार्यकर्ताहरूले पार्टीभित्र फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने वा वैकल्पिक धार प्रस्तुत गर्नेहरूलाई क्रमशः किनारा लगाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।

उल्लेखनीय छ, गत जेठ ६ गते रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्यतासमेत खारेज हुने गरी पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि बारामा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जिल्ला अधिवेशनका क्रममा दुई पक्षबीच झडप हुँदा कार्यक्रम नै तनावग्रस्त बनेको थियो भने पार्टीका शीर्ष नेताहरू समेत विवादको केन्द्रमा तानिएका थिए।

यही पृष्ठभूमिमा स्वर्णकारमाथिको कारबाही फिर्ता हुनुपर्ने मागसहित भोला साह कानुले सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए। तर उम्मेदवारी घोषणापछि प्रतिनिधित्व नै गुमाउनुपरेको घटनाले अहिले रास्वपाको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्वको सहिष्णुतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यद्यपि गणेश धिमाल, हरिओम रौनियार तथा रास्वपा नेतृत्वले सार्वजनिक रूपमा उठाइएका आरोपहरूलाई स्वीकार गरेका छैनन्। पार्टीको आधिकारिक धारणा अनुसार प्रतिनिधित्व खारेजी निर्वाचन समितिको प्रक्रियाअन्तर्गत भएको निर्णय हो।

तर महाधिवेशनकै मुखमा उठेको यो विवादले अहिले रास्वपाभित्र लोकतान्त्रिक अभ्यासभन्दा बढी शक्ति केन्द्र, प्रभाव समूह र संगठनभित्रको आन्तरिक संघर्षको बहसलाई केन्द्रमा ल्याएको छ। मधेश प्रदेशमा उठिरहेका प्रश्नहरूको जवाफ पार्टी नेतृत्वले कसरी दिन्छ भन्ने विषयले आगामी दिनमा रास्वपाको संगठनात्मक भविष्यसमेत प्रभावित पार्न सक्ने देखिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *