पुरानाले आशा मात्रै देखाए, अब लालपुर्जाका लागि सांसद गणेश धिमालप्रति कोल्हबीवासीको भरोसा
मधेश प्रदेश अन्तर्गत पर्ने बारा क्षेत्र नं. १ का विभिन्न स्थानमा अझै पनि लालपुर्जा समस्या समाधान हुन सकेको छैन। विशेषगरी कोल्हबी नगरपालिका का धेरै स्थानीयवासी वर्षौंदेखि जग्गामा बसोबास गर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाउँदा अन्योलमा छन्।
स्थानीयवासीका अनुसार विगतमा विभिन्न नेताहरूले लालपुर्जा वितरणको आश्वासन दिए पनि व्यवहारमा समस्या समाधान हुन सकेन। चुनावका बेला प्रतिबद्धता जनाइए पनि कार्यान्वयन नहुँदा नागरिक निराश बनेका छन्।
यद्यपि अहिले बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल प्रति कोल्हबीवासीले नयाँ आशा व्यक्त गरेका छन्। स्थानीयहरूले जनप्रतिनिधिका रूपमा धिमालले लालपुर्जा समस्या समाधानका लागि पहल गर्ने अपेक्षा गरेका छन्।
लालपुर्जा नहुँदा बैंकिङ कारोबार, घर निर्माण, बिक्री–वितरण तथा कानुनी स्वामित्वमा कठिनाइ भइरहेको भन्दै स्थानीयले अब ठोस पहल र व्यवहारिक समाधान चाहिएको बताएका छन्।
कोल्हबी नगरपालिका का नागरिकले सम्बन्धित सबै निकायसँग समन्वय गरी समस्या समाधानतर्फ तत्काल कदम चाल्न सांसद धिमालसँग आग्रह गरेका छन्।






