बारा मधेस प्रदेश

मेरो स्वार्थ बाझिन्छ’ भन्दै उपसमितिबाट पछि हटे सांसद गणेश धिमाल, संसदीय नैतिकताको उदाहरण प्रस्तुत

काठमाडौं, २६ असार — संसदीय अभ्यासमा बिरलै देखिने एउटा निर्णयले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा ध्यान खिचेको छ। बारा क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश धिमालले आफ्नो स्वार्थ बाझिने भन्दै प्रस्तावित उपसमितिमा बस्न अस्वीकार गरेका छन्।

सार्वजनिक लेखा समितिले बेरुजु अध्ययन तथा मन्त्रालयगत विषयहरूको अनुगमनका लागि पाँच वटा उपसमिति गठन गर्ने तयारी गरिरहेको छ। प्रारम्भिक रूपमा धिमाललाई ‘आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी’ समूहमा राख्ने प्रस्ताव गरिएको थियो। उक्त समूहले उद्योग, कृषि, वन, शिक्षा, सञ्चार, विज्ञान, युवा तथा श्रम मन्त्रालयलगायतका विषय हेर्ने जिम्मेवारी पाउने थियो।

तर बैठकमै धिमालले आफू उक्त उपसमितिमा नरहने स्पष्ट अडान राखे। उनले शिक्षा र वन क्षेत्रसँग आफ्ना परिवारका सदस्यहरूको प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै त्यहाँ बसेर निष्पक्ष निर्णय गर्न कठिन हुन सक्ने बताएका हुन्।

उनको भनाइपछि लेखा समितिले धिमालको नाम ‘राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन’ समूहमा सारेको छ। यो समूहले गृह, रक्षा, परराष्ट्र, कानुन मन्त्रालय, सर्वोच्च अदालत, लोक सेवा आयोग, निर्वाचन आयोग लगायतका निकायको बेरुजु र कार्यसम्पादनको अध्ययन गर्नेछ।

धिमालका अनुसार सार्वजनिक लेखा समितिको कार्यविधिमै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थ बाझिने अवस्था) सम्बन्धी व्यवस्था रहेको छ। त्यही व्यवस्थालाई सम्मान गर्दै आफूले अर्को उपसमितिमा जान आग्रह गरेको उनले बताएका छन्।

उनले भनेका छन्, “जहाँ आफ्नो स्वार्थ जोडिएको हुन्छ, त्यहाँ बसेर निष्पक्ष निर्णय गर्न सकिँदैन। त्यसैले सुरुदेखि नै सतर्क भएर अर्को उपसमितिमा बस्न अनुरोध गरेको हुँ।”

धिमालले सांसदहरूले व्यक्तिगत वा पारिवारिक सम्बन्ध भएका विषयमा निर्णय गर्ने भूमिकाबाट टाढा रहनु नै संसदीय नैतिकताको आधार भएको धारणा व्यक्त गरेका छन्। उनका अनुसार राजनीतिक नेतृत्व आफैं पारदर्शी नभएसम्म सुशासन र जवाफदेहिताको अपेक्षा पूरा हुन सक्दैन।

उनले थप भने, “हामी आफैं स्वार्थबाट मुक्त हुन सकेनौं भने पुराना विकृति अन्त्य गर्न सकिँदैन। त्यसैले आफूबाटै राम्रो अभ्यास सुरु गर्नुपर्छ भन्ने मेरो विश्वास हो।”

बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य धिमाल कानुन व्यवसायबाट राजनीतिमा आएका युवा नेता हुन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०७४ सालसम्म नेपाली कांग्रेसमा सक्रिय थिए। २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका धिमालले सोही वर्षको निर्वाचनमा पराजय भोगे पनि २०८२ सालको उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

संसदीय समितिमा आफ्नो स्वार्थ बाझिने अवस्था सार्वजनिक रूपमा स्वीकार गर्दै जिम्मेवारी परिवर्तनको आग्रह गर्नु नेपाली संसदीय अभ्यासमा कमै देखिने घटना मानिएको छ। धिमालको यो कदमलाई कतिपयले पारदर्शिता र नैतिक राजनीतिक संस्कृतिको सकारात्मक संकेतका रूपमा हेरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *