मधेस प्रदेश

रौतहटको कटहरियामा हराएका तीन विद्यार्थी दुई दिनपछि गौरमा सकुशल भेटिए, बैरगनिया घुम्न गएको खुलासा

रौतहटको कटहरिया क्षेत्रमा एकैपटक सम्पर्कविहीन भएका तीन जना विद्यालयका विद्यार्थी अन्ततः सकुशल अवस्थामा फेला परेका छन्। घटनाले दुई दिनसम्म स्थानीय समुदाय, अभिभावक र प्रहरी प्रशासनलाई गम्भीर चिन्तामा पारेको थियो।

कटहरिया नगरपालिका–५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबार दिउँसोदेखि अचानक हराएका थिए। उनीहरू त्रीशक्ति बोर्डिङ स्कुल मा कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन्।

परिवारका अनुसार विद्यालयबाट घर फर्किएपछि “बाहिर खेल्न जान्छौँ” भन्दै निस्किएका बालकहरू बेलुकासम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा व्यापक खोजी गर्दा समेत कुनै जानकारी नपाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका थिए।

त्यसपछि प्रहरीले तीनै बालकको तस्वीर र हुलियासहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाएर खोजी अभियानलाई तीव्र बनाएको थियो। एकैपटक तीन बालक सम्पर्कविहीन भएपछि कटहरिया बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। स्थानीयवासीले अपहरणको आशंकासमेत व्यक्त गरेका थिए।

तर बुधबार दिउँसो उनीहरू गौर बसपार्क क्षेत्रमा सकुशल अवस्थामा फेला परेका हुन्। सम्सुदिन अन्सारीका आफन्तले उनीहरूलाई देखेपछि परिवारलाई खबर गरेका थिए।

परिवारको सम्पर्कमा आएपछि बालकहरूले आफूहरूलाई कसैले अपहरण नगरेको बताएका छन्। उनीहरू स्वेच्छाले सीमावर्ती भारतीय बजार बैरगनिया घुम्न गएको खुलेको छ। बालकहरूका अनुसार उनीहरूले दुई दिन बैरगनियामा घुमफिर गरेका थिए भने राति रेलवे स्टेशनमै बसेका थिए। बुधबार गौर घुम्न आएका बेला आफन्तको नजरमा परेपछि घटना सार्वजनिक भएको हो।

घटनापछि अहिले परिवार र स्थानीयवासीले राहतको सास फेरेका छन्। प्रहरीले भने बालबालिकालाई निगरानीबिना लामो समय बाहिर जान नदिन अभिभावकलाई सचेत रहन आग्रह गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *