बारा

लोककल्याणकारी सूचनामा अनियमितताको आरोप : सिम्रौनगढ नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

बारा । सिम्रौनगढ नगरपालिकामा लोककल्याणकारी सूचनाको नाममा नगरपालिकाको बजेट दुरुपयोग भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ। प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा र “शुभआरम्भ राष्ट्रिय दैनिक” का सञ्चालक अनिल पाण्डेमाथि मिलेमतो गरी पालिकाको लाखौँ रुपैयाँ अनियमित ढंगले खर्च गरिएको आरोप लागेको हो।

स्थानीय स्रोतका अनुसार अधिकृत लहेराले पदभार सम्हालेपछि आफू निकट मानिएको उक्त पत्रिकामार्फत २०८२ चैत २ र ३ गते लगातार लोककल्याणकारी सूचना प्रकाशन गराइएको थियो। ती सूचनाका नाममा नियमविपरीत करिब १ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गरिएको दाबी गरिएको छ।

यस्तै, सोही सञ्चारमाध्यममार्फत १ लाख रुपैयाँभन्दा बढीको फर्जी बिल मिलाएर पालिकाको रकम हिनामिना गरिएको आरोपसमेत उठाइएको छ। स्रोतका अनुसार २०८३ वैशाख ८ गतेदेखि नगरपालिकाको नियमित कामकाज प्रभावित हुने गरी ५ जनाको टोली नेपालका विभिन्न पर्यटकीय क्षेत्र तथा भारतको दार्जीलिङ र टिस्टा नाकासम्म भ्रमणमा गएको बताइएको छ।

उक्त भ्रमणलाई पनि लोककल्याणकारी कार्यक्रमको आवरणमा गरिएको आर्थिक दुरुपयोगसँग जोडेर हेरिएको छ।

स्थानीय युवाहरूले एउटै सञ्चारमाध्यमलाई पटक–पटक ठूलो रकम उपलब्ध गराइनु, सूचना प्रकाशनको नाममा बजेट खर्च गरिनु तथा विकास बजेट व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यो कार्य सार्वजनिक स्रोतको दुरुपयोग तथा भ्रष्टाचारजन्य गतिविधि भएको दाबी गरेका छन्।

यसैबीच, सिम्रौनगढका सचेत युवा समूह “जेन जी” ले घटनाको निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा प्रमाणसहित उजुरी दर्ता गराएको जनाएको छ।

उजुरीपछि अब सम्बन्धित निकायले विषयमा के कदम चाल्छ भन्ने चासो स्थानीय स्तरमा बढेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *