प्रदेश खबर बारा

श्री परोपकार सहकारीद्वारा सञ्चालित FEBL तालिमको दोस्रो समूह सम्पन्न

बारा, कोल्हबी । श्री परोपकार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित “वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम” अन्तर्गत दोस्रो समूहको तीन दिने तालिम सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय श्रीपुर वीरगञ्ज नेपालको सहयोगमा आयोजना गरिएको उक्त तालिम सहकारीका सदस्य तथा स्थानीय समुदायलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यसहित सञ्चालन गरिएको संस्थाले जनाएको छ।

समापन कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष ब्रम नारायण थारुले सहकारीमार्फत सञ्चालन हुने यस्ता तालिमले सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले बचत, लगानी तथा व्यवसायिक सीप विकासमा सहभागीहरूले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जङ्ग बहादुर साह ले सहकारी संस्थाले समुदायस्तरमा वित्तीय साक्षरता विस्तारमा सकारात्मक काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सहकारी र कृषि क्षेत्रबीचको सहकार्यले स्थानीय किसान तथा साना व्यवसायीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।

त्यसैगरी, संस्थाका सचिव बलराम अधिकारी तथा मिना देवी महतोले सहकारीले सञ्चालन गरेका कार्यक्रमले सदस्यहरूमा आर्थिक चेतना वृद्धि गर्न मद्दत पुगेको बताउनुभयो।

कार्यक्रममा संस्थाका प्रबन्धक अशोक कुमार सिहं सहकारी संस्थाले आगामी दिनमा पनि सदस्यहरूको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकासका लागि यस्ता तालिमलाई निरन्तरता दिने जानकारी दिनुभयो। उहाँले सहकारीमार्फत वित्तीय पहुँच विस्तार र व्यवसायिक सीप विकासमा संस्था सक्रिय रहेको उल्लेख गर्नुभयो।

तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरूलाई वित्तीय साक्षरता, बचत व्यवस्थापन, व्यवसाय सञ्चालन, आम्दानी वृद्धि तथा उद्यमशीलतासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *