बारा

सिंचाइसँगै माछापालन प्रवर्द्धनमा जोड : बकैया खोलाबाट कुलो निर्माण कार्यको मेयर चौधरीद्वारा अनुगमन

बाराको कोल्हबी नगरपालिका वडा नं. ५ र ६ का किसानहरूको वर्षौंदेखिको सिंचाइ समस्यालाई समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको बकैया खोलाबाट सिंचाइ कुलो खन्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उक्त निर्माण कार्यको नगरप्रमुख राम प्रसाद चौधरीले स्थलगत रूपमा पुगेर अनुगमन गरेका छन्।

नगरप्रमुख चौधरीले निर्माणाधीन कुलो क्षेत्रको निरीक्षण गर्दै कामको प्रगति, गुणस्तर तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले किसानको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको सिंचाइ पूर्वाधारलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

अनुगमनका क्रममा मेयर चौधरीले केवल खेतीपातीका लागि मात्र होइन, पोखरी निर्माण तथा माछापालन व्यवसायलाई समेत लक्षित गरेर योजना अघि बढाइएको बताएका छन्। बकैया खोलाबाट ल्याइने पानीले खेतबारीमा सिंचाइ सुविधा पुग्नुका साथै स्थानीय स्तरमा पोखरीमा पानी व्यवस्थापन गर्न सहज हुने र त्यसबाट माछापालन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

उनले कृषि र पशुपालनसँगै माछापालनलाई पनि ग्रामीण अर्थतन्त्र मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा लिइएको बताए। “कृषिसँगै व्यावसायिक माछापालनलाई पनि प्रोत्साहन गर्न सके किसानको आम्दानी दोब्बर बनाउन सकिन्छ,” मेयर चौधरीले भने, “नगरपालिकाले उत्पादनमुखी योजनामार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको छ।”

स्थानीय किसानहरूका अनुसार वर्षौंदेखि पानी अभावका कारण खेतीयोग्य जमिन पूर्ण रूपमा उपयोग हुन सकेको थिएन। धान, गहुँ, मकै तथा तरकारी खेती प्रभावित हुँदै आएको अवस्थामा अब कुलो निर्माणपछि सहज रूपमा खेतसम्म पानी पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, गाउँमा रहेका पोखरीहरूमा पनि नियमित पानी पुग्ने भएपछि माछापालन व्यवसाय विस्तार हुने आशा स्थानीयले गरेका छन्।

स्थानीयवासीहरूले सिंचाइसँगै माछापालनको सम्भावना बढ्ने भएपछि आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरेका छन्। किसानहरूका अनुसार खेती र माछापालन दुवै क्षेत्रमा फाइदा पुग्ने भएकाले यो योजना दीर्घकालीन रूपमा निकै प्रभावकारी बन्न सक्छ।

नगरपालिकाका अनुसार कुलो निर्माण सम्पन्न भएपछि वडा नं. ५ र ६ का सयौं बिघा खेतीयोग्य जमिन प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ भने कृषि उत्पादन वृद्धि, पोखरी संरक्षण तथा व्यावसायिक माछापालन विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि, किसान, प्राविधिक टोली तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। स्थानीयहरूले नगरपालिकाले किसानमुखी विकास योजनालाई प्राथमिकता दिएको भन्दै खुशी व्यक्त गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *