सीमा व्यवस्थापन र भन्सार नीतिबारे मधेशमा कडा आपत्ति
मधेश प्रदेश । सीमावर्ती क्षेत्रमा देखिएको भन्सार कडाइप्रति मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष तथा तपेश्वर यादव ले कडा आपत्ति जनाएका छन्।
उहाँले नेपाल–भारत सीमामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउँदा रोक लगाउने तथा भन्सार अनिवार्य गराउने अभ्यासले स्थानीय नागरिकको दैनिक जीवन प्रभावित भएको बताउनुभयो।
यादवका अनुसार नेपाल–भारतबीचको ऐतिहासिक “रोटी–बेटी सम्बन्ध”, सीमावर्ती क्षेत्रका जनजीवन तथा उत्तर बिहारमा काम गर्ने नेपाली श्रमिकको अवस्थालाई ध्यानमा राख्दै व्यवहारिक नीति आवश्यक छ।
उहाँले “१० जनाको गल्तीका कारण हजारौं नागरिकलाई दुःख दिनु उचित होइन” भन्दै स्पष्ट र सहज सीमा व्यवस्थापनको माग गर्नुभएको छ।
त्यसैगरी, लागूऔषध नियन्त्रण, मनी लाउन्डरिङ रोकथाम, कृषि सामग्री र मलखादमा सहजता, तथा विवाह–भोजका सामग्री ल्याउँदा वडाको सिफारिसका आधारमा सहजीकरण गर्नुपर्ने सुझाव पनि दिइएको छ।
साथै, आन्दोलनका क्रममा पक्राउ परेका जेन–जेड युवामाथिका मुद्दा खारेज गर्न र सांसदलाई प्रमुख जिल्ला अधिकारी (CDO) तथा प्रहरी प्रमुख (SP) सरह अनुगमन अधिकार दिनुपर्ने विषय पनि उठाइएको छ।
मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँग मिलेर गृहमन्त्रीसमक्ष सीमा नाका सहज बनाउने र समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराइएको जनाइएको छ।






