आरोपहरू प्रमाणित भए कानुनी कारबाही भोग्न तयार छु” — परोपकार कृषि सहकारीका प्रवन्धक अशोक कुमार सिंह
सुरज बिक्रम , बारा कोल्हवी । परोपकार कृषि सहकारी संस्थामाथि आर्थिक हिनामिना, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक गतिविधिसम्बन्धी विभिन्न आरोप सार्वजनिक भइरहेका बेला सहकारीका प्रवन्धक अशोक कुमार सिंहले ती आरोपहरू अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको बताएका छन् ।

सहकारीबारे उठिरहेका विवादका विषयमा प्रवन्धक सिंहसँग प्रतिक्रिया लिँदा उनले संस्थाको सम्पूर्ण कारोबार अभिलेख र कानुनी प्रक्रिया अनुसार सञ्चालन भइरहेको दाबी गरे ।
उनले आफूहरूमाथि लागेको हिसाब हिनामिना तथा रकम अपचलनको आरोपबारे प्रतिक्रिया दिँदै भने,
“सहकारीको सम्पूर्ण आर्थिक कारोबार अभिलेखमा आधारित छ । कुनै पनि रकम अपचलन गरिएको छैन । यदि कसैसँग प्रमाण छ भने सम्बन्धित निकायमा उजुरी दिन सक्नुहुन्छ, हामी अनुसन्धानबाट भाग्दैनौं ।”
स्थानीय स्रोतका अनुसार उनी यसअघि आर्थिक अनियमिततासम्बन्धी विषयमा प्रहरी चौकीमा बसेको भन्ने चर्चा सम्बन्धमा उनले स्पष्ट पार्दै भने,
“त्यो सामान्य विवाद समाधानका क्रममा भएको छलफल मात्र थियो । कुनै आपराधिक गतिविधिमा संलग्न भएको वा दोषी ठहर भएको अवस्था होइन ।”
सहकारीको आर्थिक अवस्थाबारे उनले संस्था नियमित सञ्चालनमा रहेको तथा लेखापरीक्षण पनि हुँदै आएको जानकारी दिए ।
“सहकारीको वार्षिक लेखापरीक्षण नियमित रूपमा गरिएको छ । सम्बन्धित निकायमा आवश्यक विवरण पेश हुँदै आएको छ,” उनले भने ।

सहकारीमार्फत मिटर ब्याजको कारोबार भइरहेको आरोपबारे सिंहले भने,
“हामी कानुनले तोकेको प्रक्रिया र ब्याजदरभित्र रहेर मात्रै ऋण लगानी गर्छौं । मिटर ब्याज भन्ने आरोप निराधार र भ्रम फैलाउने उद्देश्यले ल्याइएको हो ।”
अजय कुमार सहनीको प्रभाव तथा “कालो धन” सेतो बनाउने काम भएको आरोपबारे उनले अस्वीकार गर्दै भने,
“कुनै व्यक्तिको अवैध रकम व्यवस्थापन गर्ने काम सहकारीले गरेको छैन । संस्था सदस्यहरूको बचत र वैधानिक कारोबारमै केन्द्रित छ ।”
पीडित भनिएका बिनोद चौधरी, सुरेन्द्र चौधरी लगायतले घरजग्गा बेच्नुपरेको दाबीबारे उनले ऋण असुली प्रक्रिया कानुनी दायराभित्र भएको जिकिर गरे ।
“ऋण लिएपछि तिर्नुपर्ने दायित्व हुन्छ । सहकारीले कानुनी प्रक्रिया बाहिर गएर कुनै मानसिक वा आर्थिक दबाब दिएको छैन,” उनले बताए ।
ऋण लगानी गर्दा कानुनी ब्याजदर र प्रक्रिया पालना गरिएको दाबी गर्दै उनले आवश्यक प्रमाण उपलब्ध गराउन सकिने बताए ।

“सम्पूर्ण ऋण सम्झौता, ब्याजदर र कारोबारका कागजात सुरक्षित छन् । आवश्यक परे सार्वजनिक गर्न सकिन्छ,” उनको भनाइ थियो ।
सहकारीका सदस्य तथा स्थानीयवासीले उठाएको निष्पक्ष छानबिनको मागबारे उनले सकारात्मक प्रतिक्रिया दिँदै भने,
“राज्यका सम्बन्धित निकायले गर्ने जुनसुकै निष्पक्ष अनुसन्धानमा हामी पूर्ण सहयोग गर्न तयार छौं । यदि आरोप प्रमाणित भए कानुनी कारबाही भोग्न पनि तयार छु ।”
सहकारी सञ्चालनमा राजनीतिक वा अन्य प्रभावशाली व्यक्तिको संरक्षण रहेको आरोपबारे उनले भने,
“सहकारी कुनै राजनीतिक प्रभावमा सञ्चालन भएको संस्था होइन । कानुनी प्रक्रिया र संस्थागत निर्णय अनुसार नै काम भइरहेको छ ।”
आरोपहरू गलत साबित भए संस्थाको विश्वसनीयता कायम राख्न थप पारदर्शिता अपनाइने उनले बताए ।
“सदस्यहरूसँग नियमित अन्तरक्रिया, वित्तीय विवरण सार्वजनिक र संस्थागत सुधारका कार्यक्रम अघि बढाइनेछ,” उनले भने ।
अन्त्यमा प्रवन्धक सिंहले सहकारीका सदस्यहरूको रकम सुरक्षित रहेको दाबी गर्दै अनुसन्धान तथा कानुनी प्रक्रियामा व्यक्तिगत रूपमा समेत सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
“सदस्यहरूको बचत सुरक्षित छ । सत्य तथ्य बाहिर ल्याउन हामी हरसम्भव सहयोग गर्न तयार छौं,” उनले बताए ।







