कृषि मिटर नपाउँदा कोल्हबी–५ का बोरिङ थन्किए
बारा, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका क्षेत्रमा कृषि प्रयोजनका लागि आवश्यक विद्युत् मिटरको अभाव हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित बन्न पुगेका छन्। खेतमा पानी पुर्याउने उद्देश्यले बोरिङ जडान गरिए पनि कृषि विद्युत् मिटर नपाउँदा ती बोरिङ सञ्चालन हुन नसकेको किसानहरूले गुनासो गरेका छन्।
जिल्ला विद्युत् वितरण कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बारा जिल्लाभरका लागि जम्मा २०० थान कृषि विद्युत् मिटर मात्र उपलब्ध भएको छ। जिल्लाभरका किसानको माग अत्यधिक रहेकाले धेरै कृषक अझै मिटर पाउनबाट वञ्चित छन्। यसको प्रत्यक्ष असर कोल्हबी नगरपालिका क्षेत्रका किसानमाथि परेको देखिएको छ।
नन्दकिशोर चौधरी ले कृषि मिटर अभावकै कारण किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भई खेतीपातीमा समस्या भोगिरहेको बताए। उनले कृषि उत्पादन वृद्धि र किसानको आयआर्जनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले तत्काल कृषि मिटर उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
साना किसान कृषि सहकारी संस्था प्रसौनाको सहकार्यमा कृषि ज्ञान केन्द्रमार्फत अनुदानमा बोरिङ वितरण गरिएको भए पनि विद्युत् मिटर जडान नहुँदा ती बोरिङ प्रयोगविहीन अवस्थामा रहेको स्थानीयले बताएका छन्। किसानहरूका अनुसार खेतमा सिँचाइ गर्ने उद्देश्यले बोरिङ जडान गरिए पनि विद्युत् सेवा नहुँदा लगानी खेर जाने अवस्था सिर्जना भएको छ।
यता, केही कृषकहरूले कृषि विद्युत् मिटर प्राप्त गरे पनि पर्याप्त भोल्टेज नपाउँदा मोटर प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो गरेका छन्। न्यून भोल्टेजका कारण मोटर पटक–पटक बिग्रिने र जल्ने समस्या बढेको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार वडा नं. ५ अन्तर्गत पर्ने ककडी, रामबन, बोधबन र गोकुलटाडी क्षेत्रमा समेत लामो समयदेखि न्यून भोल्टेजको समस्या रहेको छ। अत्यधिक गर्मीका बेला बत्ती मधुरो बल्ने, पंखा राम्रोसँग नचल्ने तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न कठिन हुने अवस्था रहेको उनीहरूले बताएका छन्।
स्थानीय किसानहरू भन्छन्, “कृषि मिटर पाउनै कठिन छ, पाए पनि भोल्टेज नहुँदा मोटर चल्दैन। घरमा समेत सामान्य विद्युतीय उपकरण चलाउन समस्या छ। यस्तो अवस्थामा खेतीपाती र दैनिक जीवन दुवै प्रभावित बनेको छ।”
कृषक तथा स्थानीय बासिन्दाले कृषि मिटरको अभाव अन्त्य गर्न, विद्युत् लाइनको क्षमता वृद्धि गर्न तथा नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरण सँग माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि किसानको सिँचाइ, कृषि उत्पादन र सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले समस्या समाधानमा तत्काल पहल आवश्यक रहेको बताएका छन्।







