प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हबीमा बजार सुधार र व्यापारी सुरक्षाका ऐतिहासिक निर्णय, कोल्हबी नगर उद्योग वाणिज्य संघका महासचिव हरिओम रौनियारद्वारा निर्णय प्रस्तुत

कोल्हबी नगर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन, सरसफाइ, पार्किङ, नगर प्रहरीको आवश्यकता तथा व्यापारी सुरक्षालाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैशाख २६ गते शनिबारका दिन आयोजित विस्तृत अन्तरक्रिया तथा निर्णय सभामा संघले सदस्य व्यापारीहरूको दुर्घटना बिमासम्बन्धी व्यवस्था लागू गर्ने निर्णयसहित बजार व्यवस्थापनका विभिन्न समसामयिक विषयमा गहिरो छलफल गरेको हो । कोल्हबी बजारमा फोहोर व्यवस्थापन, गुद्री तथा नयाँ बजार सञ्चालन, अव्यवस्थित पार्किङ, कर सचेतना कार्यक्रम तथा नगर प्रहरीको आवश्यकतासहितका विषयमा व्यापारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम संघका उपाध्यक्ष प्रेम चौधरीको सञ्चालन तथा अध्यक्ष राम प्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कोल्हबी नगरपालिकाकी उप–प्रमुख लक्ष्मी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा संघका महासचिव हरिओम रौनियारले संघले गरेका सम्पूर्ण महत्वपूर्ण निर्णयहरू विस्तृत रूपमा प्रस्तुत गर्नुभएको थियो । बजार व्यवस्थापनदेखि व्यापारी हितसँग सम्बन्धित बिमासम्मका निर्णयलाई स्पष्ट रूपमा राख्दै उनले उपस्थित सबै पक्षलाई आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । निर्णय प्रस्तुतिसँगै छलफललाई व्यवस्थित र निष्कर्षमुखी बनाउन महासचिव रौनियारको भूमिका महत्वपूर्ण रहेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, वरिष्ठ व्यापारी तथा सुरक्षानिकायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।

छलफलका क्रममा बजारको अस्तव्यस्तता, फोहोर व्यवस्थापनको कमजोरी, सडक अतिक्रमण, अव्यवस्थित पार्किङ तथा दुर्गन्धका कारण बजारको वातावरण प्रभावित भएको विषयमा गम्भीर ध्यानाकर्षण गरिएको थियो । सहभागीहरूले माछा व्यापारीबाट निस्कने फोहोर, पसलबाट फालिने प्लास्टिक तथा नालामा फोहोर फाल्ने प्रवृत्तिले बजार अस्वस्थ बनेको भन्दै तत्काल सुधारको आवश्यकता औंल्याएका थिए ।

समाजसेवी भुवन प्रसाद चौधरीले प्रत्येक व्यापारीले आफ्नो पसल अगाडिको सरसफाइ आफैं गर्नुपर्ने सुझाव दिँदै अव्यवस्थित संरचनाले दुर्घटनाको जोखिम बढाएको उल्लेख गर्नुभयो ।

शिक्षक वीरेन्द्र चौधरीले पसल अगाडि अनावश्यक टहरा तथा पाल टाँग्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताए भने स्वास्थ्यकर्मीहरूले पशु चौपाया व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नगरपालिकाका सरसफाइ फोकल पर्सन देवनारायण चौधरीले डस्टबिनको उचित प्रयोग गर्न आग्रह गर्दै नालामा फोहोर फाल्ने प्रवृत्ति तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अध्यक्ष लक्ष्मी प्रसाद साह कलवारले कर संकलनसँगै बजार सरसफाइमा पनि पालिकाको जिम्मेवारी आवश्यक रहेको बताए भने वडा अध्यक्ष राजहरण चौधरीले नियमित सरसफाइ र जनचेतना अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

व्यापारी जय प्रकाश चौधरीले माछा बजार, टहराको अव्यवस्था र निकास समस्याका कारण बजार दुर्गन्धित बनेको गुनासो राख्नुभयो ।

अन्त्यमा नगर उप–प्रमुख लक्ष्मी चौधरीले नगर प्रहरी गठन, फोहोर व्यवस्थापन तथा पार्किङ समस्या समाधानका विषयमा नगर प्रमुखसँग छलफल गरी चाँडै समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच, कोल्हबी नगर उद्योग वाणिज्य संघले आफ्ना सम्पूर्ण सदस्य व्यापारीका लागि दुर्घटना बिमा सुविधा लागू गर्ने महत्वपूर्ण निर्णय गरेको छ । उक्त निर्णयअनुसार दुर्घटनामा उपचार खर्चको व्यवस्था रहने तथा मृत्यु भएमा परिवारलाई १ लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइने संघले जनाएको छ ।

व्यापारीहरूको सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै संघले अघि सारेको यो निर्णयलाई कोल्हबीका व्यवसायीहरूले सकारात्मक, प्रभावकारी तथा ऐतिहासिक कदमका रूपमा मूल्यांकन गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *