कोल्हबीमा रा स्व पा संकटमा : कार्यकर्ताले पुरानै दलको संज्ञा दिन थाले
कोल्हबी । राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) कोल्हबी नगर क्षेत्रमा लामो समयदेखि स्पष्ट नेतृत्व नहुँदा संगठन अन्योलमा परेको छ । नगर तहमा आधिकारिक नेतृत्वको टुंगो नलाग्दा पार्टीका स्थानीय कार्यकर्ता तथा समर्थकहरू अन्योलमा परेका छन् ।
हिजो कोल्हबीमा नगर समिति गठन सम्बन्धी गतिविधि सार्वजनिक भएपछि पार्टीभित्र थप विवाद चर्किएको छ । एक पक्षले नयाँ समिति गठन भएको दाबी गरेपछि अर्को पक्षले प्रक्रिया विपरीत गरिएको भन्दै असन्तुष्टि जनाएको बताइएको छ । त्यसलगत्तै जिल्ला तहबाट समेत ध्यानाकर्षणसहित चेतावनी पत्र आएको चर्चा स्थानीयस्तरमा छ ।
नेतृत्व चयन र संगठन सञ्चालनमा देखिएको ढिलासुस्तीका कारण कार्यकर्तामाझ असन्तुष्टि बढ्दै गएको छ । केही कार्यकर्ताहरूले परिवर्तनको आशा राखेर साथ दिएको नयाँ पार्टीले समेत पुरानै शैली दोहोर्याउन थालेको टिप्पणी गर्न थालेका छन् । हिजोका पुराना दलहरूमा देखिने गुटबन्दी, विवाद र नेतृत्व खिचातानीकै संज्ञा दिन थालिएको स्थानीय स्रोतले जनाएको छ ।
नगर समिति गठन, जिम्मेवारी बाँडफाँट तथा वडा तहसम्म संगठन विस्तारको विषयमा स्पष्ट निर्णय नआउँदा कोल्हबीमा पार्टी गतिविधि प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । नेतृत्व अभावकै कारण नियमित कार्यक्रम, बैठक तथा जनसरोकारका विषयमा समेत पार्टीको उपस्थिति कमजोर देखिएको स्थानीय कार्यकर्ताहरू बताउँछन् ।
स्थानीय स्तरमा संगठन सुदृढ बनाउन छिटो नेतृत्व चयन गरी पार्टीलाई सक्रिय बनाउनुपर्ने माग कार्यकर्ताहरूले गरेका छन् । समयमै स्पष्ट निर्णय नआए कोल्हबीमा पार्टीको जनाधारमा असर पर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।







