प्रदेश खबर बारा मधेस प्रदेश

टुंगियो कोल्हवी नगरपालिकाको १६औँ नगरसभा, ७१ करोड ६६ लाख १९ हजारको बजेट पारित

बारा, कलैया । कोल्हवी नगरपालिकाको १६औँ नगरसभा एक सातापछि सम्पन्न भएको छ। असार १० गते सुरु भएको नगरसभा असार १७ गते नगर प्रमुख रामप्रसाद चौधरीले समापन गरेका हुन्। नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै आवश्यक सुझावसहित कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

नगरसभाको प्रारम्भिक बैठकको अध्यक्षता उपप्रमुख लक्ष्मीकुमारी चौधरीले गरेकी थिइन्। नगरसभामा “आधुनिक कृषि, पर्यटन र औद्योगिकीकरण : समृद्ध कोल्हवीको आधार” भन्ने मूल नारासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यसहित सामूहिक खेती, कृषि यान्त्रीकरण, सिँचाइ विस्तार, पशुपालन, मत्स्यपालन, कृषि उत्पादनको बजारीकरण तथा किसानको आय वृद्धि गर्ने कार्यक्रम अघि सारेको छ। कृषि संकलन केन्द्र, चिस्यान केन्द्र तथा कृषि सडक निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

पर्यटन विकासका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै सम्भावित पर्यटकीय स्थलहरूको विकास गर्ने नीति लिइएको छ। त्यसैगरी साना तथा घरेलु उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास, युवालाई सीपमूलक तालिम तथा निजी क्षेत्रसँगको सहकार्यमार्फत रोजगारी सिर्जना गर्ने योजना पनि बजेटमा समेटिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण, विद्यालय पूर्वाधार विकास तथा शिक्षक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई जोड दिइएको छ।

सडक, नाला, खानेपानी, विद्युत्, सिँचाइ लगायतका भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने तथा आवश्यकताका आधारमा नयाँ योजना सञ्चालन गरिने नीति नगरसभामा प्रस्तुत गरिएको थियो।

यसैगरी महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरण, युवा तथा खेलकुद विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन र डिजिटल सुशासनलाई समेत प्राथमिकतामा राखिएको छ।

नगरसभाले नगर प्रमुख रामप्रसाद चौधरीका पूजनीय पिता नन्देश्वर चौधरीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।

कार्यक्रमको सञ्चालन शिव पौडेलले गरेका थिए। नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

असार १० गतेदेखि सुरु भएको नगरसभा विभिन्न चरणको छलफलपछि असार १७ गते नगर प्रमुख रामप्रसाद चौधरीद्वारा औपचारिक रूपमा समापन गरिएको नगरपालिकाले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *