अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश राष्ट्रिय

फेसबुकमा ‘मिशिगन लटरी’को नाममा ठगी बढ्दो, नक्कली प्रमाणपत्र देखाएर नेपालीबाट रकम असुल्ने गिरोह सक्रिय



सुरज बिक्रम, बारा, साउन ४ । सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरलाई माध्यम बनाएर अमेरिकी ‘Michigan Lottery’ को नाम दुरुपयोग गर्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। विशेषगरी बेरोजगार युवा तथा छिटो आम्दानीको आशामा रहेका सर्वसाधारणलाई लक्षित गर्दै नक्कली प्रमाणपत्र, फर्जी कागजात र आकर्षक पुरस्कारको प्रलोभन देखाएर रकम असुल्ने कार्य बढ्दै गएको हो।
केही महिनाअघि ‘SMC’ लगायतका अवैध नेटवर्किङ तथा बेटिङ प्लेटफर्ममार्फत हजारौं नेपाली आर्थिक ठगीमा परेका घटना सेलाउन नपाउँदै अहिले ‘Luck Arrives 777’ लगायतका फेसबुक पेजहरूले आफूलाई अमेरिकी लटरीसँग सम्बन्धित आधिकारिक एजेन्ट भएको दाबी गर्दै सर्वसाधारणलाई झुक्याइरहेका छन्।
उक्त पेजहरूले ३ हजारदेखि ७ हजार रुपैयाँसम्मका विभिन्न कार्ड खरिद गरेमा १० लाख अमेरिकी डलरसम्म पुरस्कार जित्न सकिने तथा ठूलो पुरस्कार प्राप्त गर्न थप रकम तिर्नुपर्ने जस्ता दाबी गर्दै मानिसहरूलाई रकम पठाउन प्रेरित गर्ने गरेको पीडित तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बताएका छन्।
यद्यपि, अमेरिकी लटरीको नाम प्रयोग गरिए पनि रकम भने नेपालभित्रकै विभिन्न व्यक्तिको नाममा रहेका बैंक खाता तथा QR Code मार्फत संकलन गरिने गरेको देखिएको छ। यसले स्वदेशी बैंकिङ प्रणालीको दुरुपयोग गरी ठगी भइरहेको आशंका बलियो बनाएको छ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ ले ठगीलाई दण्डनीय कसुर मानेको छ। त्यसैगरी जुवा ऐन, २०२८ तथा नेपाल राष्ट्र बैंकका विदेशी विनिमयसम्बन्धी व्यवस्थाले अनधिकृत अनलाइन सट्टाबाजी तथा यस्ता वित्तीय कारोबारलाई अनुमति दिँदैन।
साइबर अपराधका जानकारहरूका अनुसार कुनै पनि वैधानिक अन्तर्राष्ट्रिय लटरीले फेसबुक मेसेन्जरमार्फत विजेता घोषणा गर्ने, व्यक्तिगत बैंक खाता वा QR Code मा रकम जम्मा गर्न लगाउने वा पुरस्कार प्राप्त गर्न अग्रिम शुल्क माग्ने अभ्यास गर्दैन।
यस्ता पेजहरूलाई वैधानिक इजाजत वा आधिकारिक प्रमाणबारे प्रश्न गर्दा सम्बन्धित व्यक्तिलाई ब्लक गर्ने वा सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको बताइन्छ। यसले उनीहरूको गतिविधिप्रति थप शंका उत्पन्न गरेको छ।
यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकायहरूले प्रभावकारी निगरानी र आवश्यक अनुसन्धान अघि बढाउनुपर्ने माग सरोकारवालाले गरेका छन्।
सार्वजनिक सचेतना: फेसबुक, मेसेन्जर वा अन्य सामाजिक सञ्जालमार्फत ठूलो पुरस्कार, अन्तर्राष्ट्रिय लटरी वा डलर जितेको भन्दै रकम मागिएमा विश्वास नगर्नुहोस्। यस्ता गतिविधि देखिएमा प्रमाण सुरक्षित राखी नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *