बाढीपीडितका लागि फेटा गाउँपालिकाको १९ लाखभन्दा बढी सहयोग, जनप्रतिनिधिदेखि शिक्षकसम्मको योगदान
बारा । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बाराको फेटा गाउँपालिकाले १९ लाख २ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
विपद्को समयमा बाढी प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीको योगदानसहित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीका अनुसार पालिकाभित्र कार्यरत विभिन्न कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको सेवा–सुविधाबाट रकम कटौती गरी सहयोग जुटाइएको हो । साथै गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत रकम उपलब्ध गराइनेछ ।
सहयोग रकममध्ये सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबबाट ७ लाख ९० हजार ५०० रुपैयाँ, गाउँपालिकाका स्थायी तथा करार कर्मचारीको तलबबाट ५ लाख ८ सय ५० रुपैयाँ, विपद् व्यवस्थापन कोषबाट ५ लाख ५ हजार रुपैयाँ र जनप्रतिनिधिको सेवासुविधाबाट १ लाख ६ हजार २८३ रुपैयाँ योगदान गरिने अध्यक्ष अन्सारीले जानकारी दिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाका अनुसार पालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले समेत आफ्नो सेवा–सुविधाबाट रकम कटौती गर्न सहमति जनाउँदै विपद् प्रभावित नागरिकका लागि सहयोग गरेका हुन् ।
स्थानीय तहले आफ्नो नियमित बजेट तथा कार्यक्रमभन्दा बाहिर गएर विपद्को अवस्थामा पीडित नागरिकका लागि सहयोग जुटाउने निर्णय गरेको हो । बाढीबाट घर, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा उद्धार र पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उद्धार कोषमा जम्मा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
फेटा गाउँपालिकाको यो निर्णयले विपद्को समयमा स्थानीय सरकार, कर्मचारी, शिक्षक र जनप्रतिनिधि सबै एकजुट भएर पीडितको पक्षमा उभिन सक्ने सन्देश दिएको छ । गाउँपालिकाले आर्थिक सहयोगलाई राहत तथा पुनर्स्थापनाको अभियानमा आफ्नो तर्फबाट गरिएको जिम्मेवार पहलका रूपमा लिएको छ ।











