मिथिलामा जानकी नवमीको भव्य उल्लास, मठ–मन्दिरमा धार्मिक अनुष्ठान र दीपावलीको तयारी
मिथिला क्षेत्रका प्राचीन धार्मिक–सांस्कृतिक धरोहरमा विशेष मानिने जानकी नवमी आज मधेस प्रदेशका महोत्तरीसहित सम्पूर्ण मिथिलाक्षेत्रमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीको अवसरमा माता सीताको जन्म भएको विश्वासमा यो पर्वलाई अत्यन्तै महत्वपूर्ण रूपमा लिने गरिन्छ।
जानकी नवमी अर्थात् जानकी प्राकट्य दिवसका अवसरमा मिथिलाभरि बिहानैदेखि मठ–मन्दिरहरूमा पूजाआजा, भजन–कीर्तन तथा विशेष धार्मिक अनुष्ठानहरू भइरहेका छन्। वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न धार्मिक कार्यक्रम गर्दै आज विधिवत् रूपमा पर्वको समापन गरिँदैछ।
मिथिलाको संस्कृति र पहिचानसँग गहिरो सम्बन्ध रहेको यो पर्वलाई यहाँका स्थानीयले भावनात्मक रूपमा विशेष महत्व दिने गरेका छन्। सीता मिथिलाकी पुत्री भएकाले जानकी नवमी यहाँका बासिन्दाको जीवन, आस्था र संस्कृतिसँग गहिरो रूपमा जोडिएको मानिन्छ।
मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वर, बर्दिबासलगायत क्षेत्रका प्रमुख मन्दिरहरूमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएका छन्। रामायण वाचन, सीता जन्म कथा, राम–सीता स्वयंवर, रासलीला तथा विविध सांस्कृतिक झाँकीहरूले पर्वलाई अझै भव्य बनाएका छन्।
साँझको समयमा मिथिलाक्षेत्रभर दीप प्रज्वलन गरी सन्ध्या दीपावली गर्ने परम्परा पनि रहिआएको छ। त्यसका लागि मठ–मन्दिरहरूमा विशेष तयारी गरिएको जनाइएको छ।
पौराणिक मान्यताअनुसार, राजा जनकले हलो जोत्दा भूमिबाट सीता प्रकट भएको कथा यस पर्वको मूल आधार मानिन्छ। त्रेतायुगको सो घटनालाई स्मरण गर्दै मिथिलामा आज पनि श्रद्धा र भक्तिभावका साथ जानकी नवमी मनाइन्छ।
यस अवसरमा व्रत बस्ने परम्परा पनि रहिआएको छ, जहाँ भक्तजनहरूले एक दिन उपवास बसेर भोलिपल्ट पूजा–आराधनासहित व्रत समापन गर्छन्।
मधेस प्रदेश सरकारले पछिल्ला वर्षहरूमा जानकी नवमीका दिन सार्वजनिक बिदा दिँदै आएको भए पनि यस वर्ष पर्व साप्ताहिक बिदासँगै परेकाले छुट्टै सार्वजनिक बिदा परेको छैन।






