प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा बारामा संगठनात्मक गतिविधि स्थगित, विस्तारित बैठकमार्फत समाधान खोजिने

सुरज विक्रम ,कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठन निर्माण विशेष समितिले जिल्लाभर सञ्चालन भइरहेका पार्टीका सम्पूर्ण संगठनात्मक गतिविधि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। समितिको २०८३ साल जेठ १ गते बसेको बैठकले सदस्यता वितरण बाहेकका वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय सबै संगठनात्मक कार्यक्रम अर्को निर्णय नभएसम्म रोक्ने निर्णय सार्वजनिक गरेको हो।

पछिल्लो समय बारा जिल्लाभित्र पार्टीको संगठन निर्माण, आन्तरिक समन्वय, जिम्मेवारी बाँडफाँट तथा कार्यगत विषयलाई लिएर विभिन्न तहमा देखिएका असमझदारी र संगठनात्मक चुनौतीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताइएको छ। पार्टीभित्रको संरचनागत व्यवस्थापनलाई व्यवस्थित बनाउन र आगामी दिनमा संगठनलाई थप सुदृढ तथा प्रभावकारी ढंगले अघि बढाउन विस्तारित छलफल आवश्यक देखिएको समितिको निष्कर्ष रहेको छ।

विशेष समितिका अनुसार बारामा देखिएका संगठनात्मक समस्या समाधान तथा पार्टीको भावी रणनीतिबारे साझा धारणा बनाउन विस्तारित बैठक आयोजना गरिने भएको छ। उक्त बैठकमा पार्टीका संघीय सांसद, केन्द्रीय समिति, मधेश प्रदेश समिति, विभिन्न विभागका पदाधिकारी तथा सदस्य, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, वडा समिति तथा पालिका समितिका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। साथै जिल्ला तहबाट चयन भएका प्रतिनिधिहरूलाई पनि बैठकमा आमन्त्रण गरिने जानकारी दिइएको छ।

सूचनाअनुसार विस्तारित बैठक आगामी जेठ ९ गते शनिबार बिहान ११ बजे कलैयास्थित करण राज प्यालेसमा आयोजना हुनेछ। बैठकमा जिल्लाभित्र देखिएका संगठनात्मक अवस्था, सदस्यता व्यवस्थापन, कार्यकर्ता परिचालन, आगामी राजनीतिक रणनीति तथा पार्टीको संरचनागत सुधारका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

समितिले बैठक सम्पन्न भई आवश्यक निष्कर्ष र निर्णय नआएसम्म जिल्लाभित्रका अन्य संगठनात्मक गतिविधि सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ। पार्टीभित्र अनुशासन, समन्वय र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै संयमित रूपमा अघि बढ्न पनि समितिले निर्देशन दिएको छ।

राजनीतिक वृत्तमा भने रास्वपा बाराको यो निर्णयलाई संगठन पुनर्संरचना र आन्तरिक व्यवस्थापनसँग जोडेर हेरिएको छ। पछिल्लो समय जिल्लामा पार्टीको गतिविधि, सदस्यता विस्तार तथा नेतृत्व व्यवस्थापनलाई लिएर विभिन्न कोणबाट चर्चा भइरहेका बेला विशेष समितिले यस्तो निर्णय सार्वजनिक गरेको हो।

विशेष समिति संयोजक कामिनी चौधरीद्वारा जारी सूचनामा कुनै जिज्ञासा, सुझाव तथा समन्वय आवश्यक परे बारा जिल्ला संगठन निर्माण विशेष समितिका सदस्य प्रदीप तिमल्सिना (राजन) सँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *