“रौतहटमा कृषि क्रान्तिको आधार : नेपालमै पहिलो अर्गानो–मिनरल मल उद्योग असोजदेखि सञ्चालनमा”
बारा/रौतहट। नेपालको कृषि क्षेत्रमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। स्वदेशी लगानीमा स्थापना भइरहेको एम आर फर्टिलाइजर्स प्रा.लि. ले नेपालमै पहिलो पटक अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेको जनाएको छ। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीबास क्षेत्रमा निर्माणाधीन उक्त उद्योगले आगामी असोज महिनादेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
कम्पनीका अनुसार उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक ५० हजार मेट्रिक टन अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन हुनेछ। नेपालमा हालसम्म यस्तो प्रकृतिको मल स्वदेशमै उत्पादन नभएको अवस्थामा यस उद्योगले कृषि क्षेत्रमा नयाँ सम्भावना र अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ।
उद्योगले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका मल तथा विभिन्न प्रकारका प्लान्ट न्युट्रिएन्ट्स उत्पादन गर्ने तयारी गरिरहेको छ। विशेष गरी माटोको स्वास्थ्य संरक्षण, उर्वराशक्ति वृद्धि तथा दिगो कृषि प्रणालीलाई प्राथमिकतामा राखेर उत्पादन प्रक्रिया अगाडि बढाइएको कम्पनीको भनाइ छ।
पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति कमजोर बन्दै गएको गुनासो बढिरहेका बेला अर्गानो–मिनरल मललाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ। यस प्रकारको मलले माटोमा आवश्यक जैविक तथा खनिज तत्वको सन्तुलन कायम राख्दै बालीको उत्पादन र गुणस्तर सुधार गर्न सहयोग गर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।
उद्योगबाट उत्पादन हुने मलले किसानलाई गुणस्तरीय र भरपर्दो मल सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ। यसबाट खेतीपातीको लागत नियन्त्रण, उत्पादन वृद्धि तथा कृषकको आम्दानी बढाउन समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यस्तै, उद्योग सञ्चालनसँगै मधेश प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन्। उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा स्थानीय युवाले रोजगारी पाउने सम्भावना रहेको बताइएको छ। यसले स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउनुका साथै औद्योगिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
हाल उद्योगको भवन निर्माण, अत्याधुनिक मेसिन जडान तथा प्राविधिक परीक्षणको कार्य तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ। निर्धारित समयमै सम्पूर्ण तयारी पूरा गरी असोज महिनादेखि नियमित उत्पादन सुरु गर्ने लक्ष्यसहित काम भइरहेको छ।
नेपालमा गुणस्तरीय मल उत्पादन गर्ने स्वदेशी उद्योग स्थापना हुनुले आयातमा निर्भरता कम गर्ने, किसानलाई समयमै मल उपलब्ध गराउने तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने राष्ट्रिय लक्ष्यमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्वदेशी लगानी, आधुनिक प्रविधि र कृषिको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर निर्माण भइरहेको एम आर फर्टिलाइजर्स प्रा.लि. को यो परियोजनालाई कृषि आधुनिकीकरण, माटो संरक्षण र खाद्य सुरक्षा सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उद्योग सञ्चालनमा आएपछि नेपालको मल उत्पादन क्षेत्रमै नयाँ इतिहास रचिने अपेक्षा गरिएको छ।








