विद्यालय छाडेर मिडिया काउन्सिलको कार्यक्रममा शिक्षक, महागढीमाई–९ को नाथ बाबा आधारभूत विद्यालयमा पठनपाठन प्रभावित
सुरज बिक्रम ,बारा,। महागढीमाई नगरपालिका–९ स्थित नाथ बाबा आधारभूत विद्यालय, कञ्चनपुरका प्राथमिक तहका शिक्षक पन्नालाल दास विद्यालय सञ्चालन भइरहेको समयमा कक्षा छाडेर मिडिया काउन्सिलको कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि सरकारी विद्यालयमा शिक्षकको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।
प्राप्त जानकारीअनुसार असार २६ गते मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलले धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कल्चरल भिलेजमा ‘कार्यविधिहरूको मस्यौदा सम्बन्धित सरोकारवालासँग छलफल’ कार्यक्रम आयोजना गरेको थियो। पत्रकारितामा समेत सक्रिय रहेका शिक्षक दास उक्त कार्यक्रममा सहभागी भएका थिए। तर कार्यक्रम विद्यालय सञ्चालन हुने समयमै परेकाले उनी विद्यालयमा उपस्थित नभएको र त्यसको प्रत्यक्ष असर विद्यार्थीको नियमित पठनपाठनमा परेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयका अनुसार नाथ बाबा आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न तथा सामान्य परिवारका छन्। यस्ता विद्यालयमा शिक्षकको अभाव पहिलेदेखि नै चुनौतीका रूपमा रहेको अवस्थामा कार्यरत शिक्षक नै विद्यालय छाडेर अन्य कार्यक्रममा सहभागी हुँदा विद्यार्थीको पढाइ अवरुद्ध भएको उनीहरूको गुनासो छ।

अभिभावकहरू भन्छन्, “सरकारी विद्यालयमा पढ्ने हाम्रा बालबालिकाको भविष्य शिक्षकको जिम्मेवारीमा निर्भर हुन्छ। तर कक्षा लिनुपर्ने समयमा शिक्षक अन्य कार्यक्रममा व्यस्त हुने हो भने विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी पाउने?”
शिक्षक पन्नालाल दास शिक्षण पेसासँगै पत्रकारितामा पनि सक्रिय रहेको बताइन्छ। विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रममा उनको नियमित सहभागिता हुने गरेको स्थानीयको भनाइ छ। तर शिक्षण जिम्मेवारीभन्दा बाहिरी गतिविधिलाई प्राथमिकता दिएको आरोपले अहिले उनको भूमिकामाथि प्रश्न उठेको छ।

शिक्षा ऐन तथा नियमावलीअनुसार सामुदायिक विद्यालयका शिक्षकले विद्यालय समय पूर्ण रूपमा शिक्षण कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ। विद्यालयको अनुमति तथा कानुनी प्रक्रिया पूरा नगरी विद्यालय समयमै अन्य व्यवसाय, गैर–शैक्षिक कार्यक्रम वा राजनीतिक गतिविधिमा सहभागी हुन नपाइने कानुनी व्यवस्था रहेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।
शिक्षाविद्हरूका अनुसार शिक्षकले पत्रकारिता, सामाजिक सेवा वा अन्य पेशामा संलग्न हुन चाहे पनि त्यसले विद्यालयको पठनपाठनमा असर पर्नु हुँदैन। विशेषगरी प्राथमिक तहका विद्यार्थी शिक्षकको प्रत्यक्ष उपस्थितिमा निर्भर हुने भएकाले शिक्षक अनुपस्थित हुँदा उनीहरूको सिकाइमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ।
यस विषयमा विद्यालयको धारणा बुझ्न नाथ बाबा आधारभूत विद्यालयका प्रधानाध्यापक विजयशंकर चौरसियासँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उनसँग सम्पर्क हुन सकेन। त्यसैले विद्यालय प्रशासनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन।
यस्तै, महागढीमाई नगरपालिकाको शिक्षा शाखाले पनि घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि स्थानीय सरोकारवालाले घटनाको सत्यतथ्य छानबिन गरी विद्यालय समयमै शिक्षण कार्य छाडेर अन्य कार्यक्रममा सहभागी भएको पुष्टि भए कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बहस चलिरहेका बेला शिक्षक नै विद्यालयभन्दा बाहिरी कार्यक्रममा व्यस्त हुने प्रवृत्तिले शिक्षा प्रणालीमाथिको जनविश्वास कमजोर बनाउने शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ। उनीहरूका अनुसार राज्यबाट तलब–सुविधा लिने शिक्षकको पहिलो दायित्व विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। त्यसलाई बेवास्ता गर्दै व्यक्तिगत वा अन्य पेशागत गतिविधिलाई प्राथमिकता दिइए त्यसको सबैभन्दा ठूलो मूल्य निर्दोष विद्यार्थीले चुकाउनुपर्ने अवस्था सिर्जना हुन्छ।
स्थानीयवासीले अब सम्बन्धित निकायले घटनालाई सामान्य रूपमा नलिएर छानबिन गरी आवश्यक निर्णय गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले यस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाइनु आवश्यक छ।








