बारा

कोल्हवी–११ रामपुरवाको सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको आरोप, संरक्षण र व्यवस्थापनको माग

सुरज विक्रम कोल्हवी, बारा । कोल्हवी नगरपालिका–११ रामपुरवामा रहेको करिब २ बिघा ८ कठ्ठा सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक प्रयोजनका लागि छुट्याइएको उक्त ऐलानी जमिन संरक्षण गर्न तथा अतिक्रमित क्षेत्र खाली गराउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका हुन्।

स्थानीयका अनुसार आर्थिक वर्ष २०८२ सालदेखि सो क्षेत्रमा करिब ५० घरधुरीले सुकुम्बासीको नाममा घरटहरा निर्माण गरेका छन्। सार्वजनिक उपयोगका लागि रहेको जग्गामा अनुमति बिना संरचना निर्माण गरिएको भन्दै स्थानीय सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

स्थानीयवासीले सरकारद्वारा सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणका लागि जारी निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनीहरूले कोल्हवी नगरपालिका, वडा कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय गरी सार्वजनिक गौचर जग्गा संरक्षण र व्यवस्थापनमा तत्काल पहल गर्न आग्रह गरेका छन्।

उनीहरूको भनाइ अनुसार उक्त जग्गा भविष्यमा सामुदायिक पूर्वाधार, विकास निर्माण तथा सार्वजनिक उपयोगका विभिन्न योजनाका लागि महत्वपूर्ण हुन सक्ने भएकाले अतिक्रमण नियन्त्रण आवश्यक रहेको छ।

स्थानीयले समस्या समाधानका लागि कानुनी प्रक्रिया अवलम्बन गर्दै निष्पक्ष र दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा समेत राखेका छन्।

यस विषयमा कोल्हवी नगरपालिका तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त हुन सकेको छैन।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *