समाचारपछि मात्रै रकम बुझाइयो ? आरोप ढाकछोप गर्न पीडितलाई फकाउने र पत्रकारमाथि दबाब दिएको आरोप
बारा, कोल्हबी–८ । श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडसँग जोडिएको आर्थिक अनियमितता तथा सामाजिक सहयोग रकम विवादले पछिल्लो समय थप गम्भीर मोड लिएको छ। मृगौला पीडित बलराम ठकुरीको उपचारका लागि संकलन गरिएको सहयोग रकमबारे समाचार सार्वजनिक भएपछि मात्रै पीडित पक्षलाई रकम उपलब्ध गराइएको तथ्य बाहिरिएसँगै सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेतमाथि उठेका आरोप थप चर्किएका हुन्।
स्थानीय स्रोतका अनुसार लामो समयसम्म पीडित पक्षले सहयोग रकम प्राप्त नगरेको गुनासो गरिरहे पनि समाचार सार्वजनिक भइसकेपछि मात्रै रकम बुझाउने प्रक्रिया अघि बढाइएको थियो। समाचार सार्वजनिक भएपछि मात्र रकम उपलब्ध गराइएको जानकारी स्वयं पीडित पक्षबाट बाहिरिएपछि स्थानीय स्तरमा सहकारीको पारदर्शिता र सामाजिक कामको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
तर, विवाद सार्वजनिक भइसकेपछि भने घटनालाई फरक ढंगले प्रस्तुत गर्न प्रयास गरिएको आरोपसमेत उठेको छ। स्थानीय स्रोतका अनुसार पीडित पक्षलाई नै “रकम त पहिले नै आएको थियो”, “समाचार बनाउन नपर्ने थियो” भन्ने आशयको अभिव्यक्ति दिन दबाब सिर्जना गरिएको दाबी गरिएको छ। यसका लागि विभिन्न माध्यमबाट पीडितलाई फकाउने, प्रभावमा पार्ने, भ्वाइस रेकर्ड संकलन गर्ने तथा विषयलाई सामसुम पार्ने प्रयास भएको स्थानीयहरूको भनाइ छ।
स्रोतका अनुसार पीडित पक्षलाई कहिले आश्वासन, कहिले दबाब त कहिले विभिन्न प्रलोभन देखाएर वास्तविकता बाहिर नआओस् भन्ने प्रयास गरिएको आरोप लागेको छ। यस घटनाले सामाजिक सेवाको नाममा संकलित रकमको पारदर्शिता मात्र होइन, घटनापछि गरिएको गतिविधिमाथिसमेत प्रश्न उठाएको छ।
यसैबीच, समाचार प्रकाशन गरेपछि पत्रकारमाथि समेत दबाब सिर्जना गरिएको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेत आफ्ना केही समर्थकहरूलाई साथमा लिएर समाचार हटाउन, विषयलाई अगाडि नबढाउन तथा समाचार डिलिट गर्न मानसिक दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लागेको हो।
समाचार प्रकाशनपछि बाराकोगतिबिधि डटकम का सञ्चालक तथा पत्रकार सुरज बिक्रम थापामाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गरिएको दाबी गरिएको छ। स्रोतका अनुसार संस्थापक अध्यक्ष किशोर बस्नेतसँग सम्पर्क भए पनि उनले आफ्ना समर्थकहरूलाई साथमा लिएर विभिन्न निकाय, अदालत तथा जिल्ला प्रशासन कार्यालयसम्म पुगेर समाचार हटाउन दबाब दिने तथा आफूमाथि लागेको आरोप ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागेको छ।
स्थानीयहरूको भनाइअनुसार पत्रकारलाई विभिन्न माध्यमबाट गलत सावित गर्ने, समाचारको विश्वसनीयतामाथि प्रश्न उठाउने तथा वास्तविक विषयबाट ध्यान मोडेर आफूलाई लागेको आरोपबाट उम्किन खोजिएको दाबी गरिएको छ। “गल्तीको जवाफ दिनुको सट्टा पत्रकारलाई नै निशाना बनाउने काम भइरहेको छ,” एक स्थानीयले बताए।
स्थानीय पत्रकार तथा नागरिक समाजका अगुवाहरूले यस्तो गतिविधिलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा टिप्पणी गरेका छन्। उनीहरूका अनुसार सत्यतथ्य सार्वजनिक गर्ने पत्रकारलाई डर, धम्की, दबाब वा प्रलोभनमा पार्ने प्रयास लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताविरुद्धको कार्य हो।
उता, स्थानीय सरोकारवालाहरूले सहकारीको सम्पूर्ण आर्थिक कारोबार, सामाजिक सहयोगका नाममा संकलित रकम, वितरण प्रक्रिया तथा समाचार सार्वजनिक भएपछि भएका गतिविधिमाथि निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। “यदि जनताको भावनासँग खेलबाड भएको हो भने दोषीमाथि कानुनी कारबाही हुनुपर्छ,” स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
यस विषयमा सहकारी व्यवस्थापन तथा संस्थापक अध्यक्ष किशोर बस्नेतसँग प्रतिक्रिया लिन खोजिए पनि उनले आरोपबारे स्पष्ट धारणा दिन चाहेका छैनन्। सम्बन्धित पक्षको थप प्रतिक्रिया प्राप्त भएमा आगामी संस्करणमा समावेश गरिने जनाइएको छ।






