सिम्रौनगढमा छोटी भन्सार सञ्चालनको तयारी तीव्र, अर्थमन्त्रीबाट सकारात्मक संकेत : सांसद गणेश धिमाल
बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा छोटी भन्सार सञ्चालनको विषय फेरि चर्चामा आएको छ। प्रतिनिधिसभा सदस्य गणेश धिमाल ले सिम्रौनगढमा छोटी भन्सार सञ्चालनका लागि पहल प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
धिमालका अनुसार पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल द्वारा गरिएको छोटी भन्सार सञ्चालन सम्बन्धी निर्णय हाल कार्यान्वयनको चरणमा पुगेको हो। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भएको छलफलमा जेठ १५ गते प्रस्तुत हुने बजेट भाषणपछि भारतसँग सीमा जोडिएका तराई–मधेशका जिल्लामा रहेका छोटी भन्सार नाकाहरूको अवलोकन तथा अनुगमन गरिने प्रतिबद्धता प्राप्त भएको बताएका छन्।
उनका अनुसार बारा जिल्लाको सिम्रौनगढसहित अन्य छोटी भन्सार नाकाहरूलाई थप व्यवस्थित बनाउने, बन्द भएका नाकाहरू पुनः सञ्चालन गर्ने वा आवश्यकता अनुसार नयाँ छोटी भन्सार खोल्ने विषयमा औचित्य र आवश्यकताको आधारमा निर्णय गरिनेछ।
सांसद धिमालले यस विषयमा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै सीमा क्षेत्रको आर्थिक गतिविधि तथा स्थानीय व्यापार प्रवर्द्धनमा छोटी भन्सार सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।







