अर्थ पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश राष्ट्रिय

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

वीरगन्जमा रहेकोे कृषि औजार कारखाना वीरगन्जबाट कृषि औजारको व्यावसायिक उत्पादनको गृहकार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले उद्योगमा सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन खरिद गरेर भित्र्याएको छ । केन्द्रका इन्जिनियर रितेश देवका अनुसार टेन्डर प्रक्रियाबाट उक्त मेसिन खरिद गरिएको हो ।

चीनमा उत्पादित यो मेसिन झन्डै ५० लाख रुपैयाँ लागतको हो । ‘कृषि औजार उत्पादन गर्न आवश्यक पर्ने फलामे पाताहरूलाई आवश्यकता अनुसार सहजै काट्न सक्ने यो मेसिन कारखानाका लागि अत्यावश्यक थियो,’ उनले भने, ‘यसबाट अब कृषि औजारहरू सहजै उत्पादन गर्न सकिनेछ 

केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा बिक्री गरेर संकलन गरेको रकमबाटै उक्त मेसिन खरिद गरिएको इन्जिनियर देवले बताए । यसबाहेक हाल कारखानामा रहेको ‘हिट ट्रिटमेन्ट युनिट’ को पनि मर्मत सम्भारको काम चलिरहेको उनले बताए । यो युनिटले गेयर बक्स उत्पादन गर्छ । विभिन्न कृषि उपकरणमा यस्तो गेयर बक्स प्रयोग हुन्छ ।

कारखानामा हाल रोल्पा एग्रिकल्चर कलेजका तीन विद्यार्थी गाँजाको बोटको डण्डीबाट इटा बनाउने मेसिन ‘डेर्कोरटिकेटर’ को निर्माणमा व्यस्त रहेको पनि इन्जिनियर देवले बताए । ‘उनीहरू गाँजाको बोटको डण्डीबाट रेशा निकालेर उक्त रेशाबाट इटा बनाउने मेसिन निर्माण गर्न हामीसँग सहकार्य गरेका छन्,’ उनले भने, ‘मेसिन निर्माण भएको खण्डमा नेपाली वैज्ञानिकहरूका लागि ठूलो उपलब्धि हुनेछ ।’

कारखानामा धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजनासहित काम भइरहेको पनि उनले बताए । ‘सम्भवतः आउँदो २ महिनाभित्र रिपर र थ्रेसर मेसिन उत्पादन गरी सक्नेछौं,’ उनले भने, ‘त्यसका लागि कारखानामा सीएनसी लेजर सिट कटिङ मेसिन पनि भित्र्याइसकेका छौं ।’

केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ । यस बाहेक कुटो, कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन गरी सकेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *