काठमाडौं उपत्यकामा २४ घण्टामा ३,५०१ सवारी चालक कारबाही, २५ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ठूलो संख्यामा सवारी कारबाही गरेको छ। विभिन्न नियम उल्लंघन गर्ने कुल ३ हजार ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, अवस्था ठीक नभएका ६९ जना, रातो बत्ती उल्लंघन गर्ने १५८ जना, तीव्र गतिमा सवारी चलाउने ८९ जना र लेन अनुशासन उल्लंघन गर्ने १७२ जना कारबाहीमा परेका छन्।
त्यस्तै, ढोका खुल्ला राखी सवारी चलाउने ५७ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ७७ जना, ओराल्ने तथा चढाउने क्रममा नियम उल्लंघन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा २ हजार ७४७ जना चालकलाई कारबाही गरिएको उनले जानकारी दिए।
उक्त कारबाहीबाट कुल २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।






