“रौतहटमा तीन विद्यार्थी रहस्यमय रूपमा सम्पर्कविहीन दिल्ली जाने योजना थियो ? प्रहरीको गम्भीर अनुसन्धान सुरु”
कटहरिया नगरपालिका क्षेत्र यतिबेला तीन जना बालक अचानक बेपत्ता भएपछि तनावग्रस्त बनेको छ। एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन विद्यार्थी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवार, स्थानीयवासी र प्रहरी प्रशासन चिन्तित बनेका छन्।
कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकिल अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवनकुमार दास सरभंग गत सोमबारदेखि बेपत्ता रहेको परिवारजनले बताएका छन्।
परिवारका अनुसार तीनै बालक सोमबार विद्यालयबाट घर फर्किएका थिए। त्यसपछि केहीबेर घरमै बसेर “बाहिर खेल्न जान्छौं” भन्दै निस्किएका उनीहरू त्यसयता सम्पर्कमा आएका छैनन्। साँझ अबेरसम्म घर नफर्किएपछि अभिभावकले आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी सुरु गरेका थिए। तर कुनै जानकारी नपाएपछि उनीहरूले तस्वीरसहित ईलाका प्रहरी कार्यालय कटहरिया मा निवेदन दर्ता गराएका हुन्।
अभिभावकहरूले दिएको जानकारीअनुसार बेपत्ता भएका बालकमध्ये सकिल अन्सारीसँग केही नगद रकम रहेको र साथीहरूबाट उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट सूचना प्राप्त भएको छ। यद्यपि यसबारे प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।
प्रहरीका अनुसार तीनै बालकको तस्वीर र हुलियासहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाइसकिएको छ। नेपालभर प्रहरी सञ्जालमार्फत खोजी कार्य तीव्र पारिएको तथा भारतीय प्रहरीसँग समन्वयको प्रक्रिया पनि अघि बढाइएको बताइएको छ।
मोहन आले मगर ले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै यो अपहरण, भागेर गएको वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने बताए।
स्थानीयवासीले घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै बालबालिकाको सुरक्षा र अभिभावकीय निगरानीमा थप सतर्कता आवश्यक रहेको बताएका छन्।






