बारा मधेस प्रदेश

कोल्हवीमा बजार विस्तार तथा उद्योग प्रवर्द्धनबारे अन्तरक्रिया, स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने जोड

सुरज विक्रम , बारा कोल्हवी ,


“औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित कोल्हवी नगरपालिकामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, कलैयाको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको सभापतित्व घरेलु तथा साना उद्योग कार्यालय कलैयाका कार्यालय प्रमुख देवेन्द्र कुमार झाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईंको सहभागिता रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रशासनिक अधिकृत प्रविन चौधरी, वाणिज्य संघ कोल्हवीका सल्लाहकार ढुण्डिराज उप्रेती, उपभोक्ता हित संरक्षण मञ्च बाराका अध्यक्ष अनिरुद्ध खनाललगायत स्थानीय उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तरक्रियामा सहभागी वक्ताहरूले कोल्हवी क्षेत्र व्यापारिक सम्भावनाले भरिपूर्ण रहेको उल्लेख गर्दै स्थानीय उत्पादनको बजारीकरण, उद्योगमैत्री वातावरण निर्माण तथा सरकारी र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

उनीहरूले साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण नीति, सीप विकास तालिम, कृषिमा आधारित उद्योग स्थापना तथा बजार पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्न सके आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, कर प्रणाली, लगानी वातावरण तथा व्यवसाय प्रवर्द्धनका उपायबारे समेत खुला छलफल गरिएको थियो। सहभागी व्यवसायीहरूले स्थानीय तहबाट उद्योगमैत्री नीति कार्यान्वयन गर्न आग्रह गरेका थिए।

घरेलु तथा साना उद्योग कार्यालय कलैयाले यस्ता कार्यक्रमले स्थानीय उद्यमशीलता विकास, आर्थिक गतिविधि विस्तार तथा दिगो अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा कोल्हवी नगरपालिकाका जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आमोद कुमार यादवले गर्नुभएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *